घोडाघोडीको सुन्दरता
कैलाली जिल्लाको प्रमुख पर्यटकीय स्थलमध्ये एक हो, घोडाघोडी ताल ।
विश्व रामसार सूचीमा सूचीकृत यो तालमा प्रकृतिको शीतलतासँगै विभिन्न प्रजातिका चरा अवलोकन गर्न पाइन्छ ।
रैथानेदेखि रुसको साइबेरियादेखि आएका पाहुना चराहरू सिमसारमा चर्छन् ।
सुखड र वनबहेडाको बीचमा पर्ने जंगलभित्र अवस्थित ताल पूर्व–पश्चिम राजमार्गको छेउमै पर्छ । तालको आकार हत्केला जस्तै छ ।
१२३ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताललाई पौराणिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ ।
योगी नरहरिनाथले अनुसन्धानबाट यो ताल महाभारत काल भन्दा पनि पहिलेदेखि पवित्र तीर्थस्थल रहेको साबित गरेका थिए ।
ताल अवलोकन गर्न जाने आन्तरिक पर्यटकहरू चार किलोमिटर दूरीमा पर्ने माघी गाउँ पुगेर थारु संस्कृति र परिकारमा पनि रमाउँछन् ।
घोडाघोडी नगरपालिका–४ स्थित यो गाउँमा स्थानीय थारु समुदायले पाँच वर्षदेखि माघी होमस्टे सञ्चालन गरिरहेका छन् ।
होमस्टेमा आउने पाहुनालाई सखिया, लट्ठी लगायत परम्परागत थारु नृत्य देखाइने गरेको एक संचालक शोभाराम चौधरी बताउँछन् ।
सवारी साधनमा कैलालीको धनगढीदेखि एक घण्टा र बाँकेको नेपालगन्जदेखि तीन घण्टामा माघी होमस्टे पुगिन्छ ।