गाउँभरि राेजगारी दिँदै कोरियाबाट फर्किएका युवा
कोरियाबाट फर्किएका प्रवासी कामदारले शुरू गरेको डेरी व्यवसायले स्वरोजगार त बनाएको छ नै, छिमेकी गाउँमा समेत रोजगारी सिर्जना गरेको छ।
पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रिडी उपत्यका शालिग्राम पाइने भएकाले तीर्थालुका माझ प्रसिद्ध छ। धार्मिक कारणले चर्चित भए पनि दीर्घकालीन व्यवसाय शुरू गर्न चाहनेका लागि भने यो ठाउँ खासै उपयुक्त मानिंदैन। एक त यो बजारबाट टाढा छ। अर्को, यहाँका अधिकांश मानिस शहर र परदेशतिर बसाइँ सरेका छन्।
तर, वैदेशिक रोजगारीबाट फर्किएका रविलाल पन्थ भने अपवाद भएका छन्। नेपाल फर्किएपछि उनले आफ्नै गाउँठाउँमा शुरू गरेको डेरी व्यवसायले सिर्जना गरेको बजारका कारण आसपासका जिल्लाका १२० किसान लाभान्वित छन्।
“मेहनती र इमानदार हुने हो भने बाउबाजेले गरेको काम गरेरै नेपालमै जीविकोपार्जन हुनेगरी कमाउन सकिन्छ,” पन्थ भन्छन्, “म वैदेशिक रोजगारीबाट फर्किएको हुँ। मैले नै यति काम गर्न सक्छु भने सोच्नुस् त- सरकारले अरू नेपालीलाई पनि फर्किन र यसैगरी व्यवसाय गर्न प्रेरित गर्यो भने के के होला?”
दक्षिण कोरियाबाट फर्किएको पाँच महीनामै सन् २०१४ मा पन्थले ‘गौरव दूध डेरी तथा प्रशोधन केन्द्र’ स्थापना गरेका थिए।
पन्थ सानै छँदा उनको परिवार चाडपर्वमा रिडी आउँथ्यो। हरेक पटक पाल्पास्थित मावल जाँदा उनी रिडी हुँदै जाने गर्थे। आसपासका तीनवटै जिल्लाका मानिस आफ्ना आफन्तजनको मृत्यु हुँदा दाहसंस्कारका लागि यहींको कालीगण्डकी किनारमा आउने गर्छन्।
दूध, दही र घ्यू चाडपर्व, जन्म र मृत्यु परम्परामा चाहिन्छन्। तर, गर्मी याममा दूधको सधैं अभाव हुने गरेको पन्थले ख्याल गरे। पूजापाठका लागि आउनेहरूले घरैबाट दूध बोकेर आउँथे, तर त्यो ल्याउँदाल्याउँदै बिग्रिसक्थ्यो। स्थानीय किसानले गाईवस्तु त पाल्छन्, तर व्यावसायिक प्रयोजनका नभई घरायसी उपयोगका लागि मात्रै।
यही अभावमै पन्थले व्यवसाय फस्टाउन सक्ने सम्भावना भेटे। उनले रिडीमै डेरी खोल्ने निधो गरे। माग प्रशस्त थियो भने स्थानीय किसानले पनि दूध बेच्ने ठाउँ पाउने थिए।
तर, काम थालेसँगै उनले नचिताएका चुनौती सामना गर्नुपर्यो। आफूले जम्मा गरेको दूध लिएर उनी घर घरमै बेच्न जान्थे। त्यसरी बेच्दा अधिकांशले उधारोमा किन्थे। अर्कातर्फ सबै दूध बिक्री पनि हुँदैनथ्यो। दूधको प्रशोधन कसरी गर्ने र त्यसबाट अन्य दुग्धजन्य सामग्री कसरी बनाउने भन्ने उनलाई थाहा थिएन। नबिकेको दूध सबै खेर जान्थ्यो।
“शुरूमा त निकै गाह्रो भयो,” त्यसअघि दूध व्यवसाय सम्बन्धी कुनै अनुभव नभएका पन्थ सम्झिन्छन्। व्यवसाय शुरू गरेको चार महीनापछि मात्र उनले एक दिनमा २० लिटर दूध बेचे। “त्यो दिन त मलाई संसारै जिते जस्तो लाग्यो,” उनी सुनाउँछन्।
यद्यपि पहिलो वर्ष त व्यवसाय घाटामै गयो। “हरेक दिन म बिहान ४ बजेदेखि बेलुका ९ बजेसम्म काम गर्थें, मेरो परिवारले पनि उत्तिकै मेहनत गर्थ्यो, तर सबै खेर गइरहेको थियो,” उनले संघर्षका दिन सम्झिए।
साथीहरूले उनलाई विदेशबाट फर्केपछि पागल भयो भन्थे। बुद्धि नपुगेर विदेशबाट ल्याएको पैसा बेफ्वाँकमा खर्च गरेको भन्थे।
खासमा उनले काठमाडौंमा होटल खोलेका थिए। तर, सञ्चालन गर्ने ढङ्ग नपुगेपछि ईपीएस परीक्षा दिएर सन् २००९ मा दक्षिण कोरिया गएको उनी सुनाउँछन्। त्यहाँ उनी जहाजमा काम गरेर मासिक दुई लाख रुपैयाँ कमाउँथे।
आम्दानी त राम्रै थियो, तर उनी सन्तुष्ट थिएनन्। “मैले पैसा बचत त गरिरहेको थिएँ, तर घरमा मेरा छोराछोरीले बाउको अभाव महसूस गरिरहेका थिए। अनि विदेशी भूमिमा कुनै सम्मान थिएन, दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार गरिन्थ्यो,” उनले सुनाए।
त्यसैले बचत गरेको रकम लिएर गाउँघरमै परिवारसँगै बसेर केही गर्ने सोच बोकेर उनी नेपाल फर्किए। “मान्छेहरूले जेसुकै भनून्, वास्तै नगरी मैले आफ्नो काम गरिरहें,” पन्थ भन्छन्, “व्यवसाय हो, नाफाघाटा त भइहाल्छ भनेर मैले आफैंलाई विश्वस्त बनाएँ।”
वर्षदिन काम गर्दा पनि घाटा खाएपछि उनी जिल्लाकै ‘भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र’ गए। पोखरा र दूग्ध विकास संस्थानमा तालीम लिए।
अन्ततः २०७३ सालमा उनले दुग्ध प्रशोधन एकाइ खडा गरे। त्यसपछि उनले नबिकेको दूध फाल्नुपरेन, बरु घ्यू, दही र पनीर उत्पादन गर्न थाले। तर, फेरि अर्को समस्या आइलाग्यो। स्थानीय बासिन्दाले ती दुग्ध उत्पादन किनेनन्।
शुरूमा त उनलाई महीनाभर पाँच किलोग्राम पनीर बेच्न पनि धौधौ भयो। अधिकांश स्थानीय शाकाहारी भए पनि पनीरसँग अभ्यस्त थिएनन्। आफ्नो सामग्रीको बजारीकरण गर्न उनले जुक्ति लगाए। आफूलाई बोलाइएका विवाह लगायत हरेक समारोहमा ब्यांक्वेटहरूलाई केही किलोग्राम पनीर दिन थाले।
“मैले उनीहरूलाई मन परे पैसा दिनु नभए पर्दैन भनें,” आफूले अपनाएको बजारीकरणको तरीका सुनाउँछन् उनी।
अचेल उनी त्यही पनीर प्रतिकिलो रु.८५० का दरले बेच्छन्। रिडीका मानिसको जिब्रोमा पनीरको स्वाद बसिसकेको छ। घरमा सानो जमघट भयो भने पनि पनीरका परिकार पाकिहाल्छन्। कुनै वेला उनको खिल्ली उडाउने मानिसहरूले आफ्ना सन्तानलाई पनि डेरी व्यवसाय सिकाइदिन अनुरोध गर्न थालेका छन्।
अचेल ग्राहकको नटुट्ने लामले पन्थलाई रिडी बजारस्थित आफ्नो पसलमा सखारै बिहानदेखि अबेर रातिसम्म व्यस्त बनाउँछ। कहिलेकाहीं पसल बन्द गर्न पर्दा ग्राहकले फोन गरेर कति वेला खुल्छ भनेर सोध्ने गरेको उनी बताउँछन्।
उनले केही मानिसलाई जागीर पनि दिएका छन्। उनीहरू दिनको दुई पटक पाँच वटा संग्रहकर्ताबाट दूध ल्याउँछन्। किसान र कृषक समूहले पायक पर्ने संग्रहकर्ताकहाँ दूध पुर्याउँछन्। दैनिक ८०० देखि एक हजार लिटर दूध प्रशोधन केन्द्रसम्म आइपुग्ने उनी बताउँछन्।
“अचेल किसान मलाई विश्वास गर्छन्,” पन्थ भन्छन्, “अरू कोही उनीहरूकहाँ पुगेर धेरै पैसा दिन्छु भन्दा पनि किसानले मलाई छोडेका छैनन्।”
आफ्नो पसलबाट बिक्री हुने घ्यू, पनीर, दही र कुल्फी उनी आफैं बनाउँछन्। साथै मानिसहरूलाई डेरी तालीम पनि दिन्छन्।अचेल उनी आइसक्रीम पनि बनाउने योजनामा छन्।
रिडीमा रहेको प्रशोधन केन्द्र र पसल बाहेक उनले गुल्मी र पाल्पामा पनि आफ्नो शाखा विस्तार गरेका छन्। प्याकेजिङ गरिएको दूध र दुग्ध उत्पादन पसलसम्म पुर्याउँछन्। पसलेहरूले आफूले बेचेको सामग्रीबाट निश्चित हिस्सा पाउँछन्।
“किसानलाई बजारसँग जोड्न सकेकोमा म खुशी र गर्व महसूस गर्छ,” उनी भन्छन्, “अचेल धेरै किसान व्यवसायसँग जोडिएका छन् जुन स्थानीय अर्थतन्त्रका लागि राम्रो कुरा हो।”
उनीसँग जोडिएकामध्ये धेरै कमाउने कृषक समूह सत्यवती गाउँपालिकाको अस्लेवाको हो। उक्त समूहसँग मासिक १० लाख रुपैयाँको कारोबार हुने गरेको पन्थ बताउँछन्।
व्यवसायमा मात्र सीमित छैनन् पन्थ। राज्यसञ्चालित तालीमहरूमा प्रशिक्षण दिएर सरकार र किसानबीचका पुल पनि बनेका छन्। “सच्चा किसान त खेत खन्नमै व्यस्त हुन्छन्, उनीहरूलाई कागजी कामबारे केही थाहा हुँदैन, उता सरकार पनि निकै व्यस्त छ, उनीहरूलाई हेर्नै भ्याउँदैन, त्यसैले म यी दुईलाई जोड्ने काम गर्छु,” उनी भन्छन्, “तर, सरकारले वास्तविक किसानको हित सुनिश्चित गर्न जरुरी छ।”
एक दशकअघि बाध्यतावश दक्षिण कोरिया गएको पन्थ बताउँछन्। “त्यहाँ गएर केही नयाँ सिकेर यहाँ आएर लागू गर्ने सोच थिएन मेरो,” उनी भन्छन्, “म त केवल काम गर्न गएको थिएँ। विदेशमा जतिसुकै पैसा कमाए पनि विश्वास र सम्मान कमाउन गाह्रो हुन्छ। नेपालमा धेरथोर जति कमाए पनि मानिसले सम्मान गर्छन्।”
वैदेशिक रोजगारीका क्रममा उनले सिकेको सबैभन्दा ठूलो पाठ भने अनुशासन हो। “अनुशासन र कडा मेहनतले एउटा व्यक्तिलाई मात्र होइन सिङ्गो समाज र देशलाई परिवर्तन गर्छ,” उनी भन्छन्।
उमेरले साथ दिंदासम्म काम गर्ने र आफ्नो छवि राम्रो बनाउने चाहना छ पन्थको। नेपालीलाई देशमै राेजगार बनाउन साथ दिने सपना छ उनको। कविताका पंक्तिमा आफ्नो सन्देश यसरी सुनाउँछन् उनी- ‘नजाऔं अब खाडीमा, खुशीसँग पैसा खोजुम् हाम्रै पाखा, हाम्रै बारीमा।”
अंग्रेजीमा पढ्न नेपाली टाइम्समा क्लिक गर्नुहोस्।