नेप्सेमा दोहोरो अङ्कले गिरावट, कारोबार पनि घट्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा बुधबार पनि दोहोरो अङ्कको गिरावट आएको छ।
नेप्से परिसूचक १४.०५ अङ्कले घटेर दुई हजार ५०.७८ को बिन्दुमा झरेको छ। तीन दिनदेखि नेप्से परिसूचकमा लगातार गिरावट आइरहेको छ।
आज विभिन्न २७१ कम्पनीका ८६ लाख ५१ हजार १६४ कित्ता शेयर तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार २६० रुपैयाँ बराबरको कारोबार भएको छ। जबकि, मंगलबार चार अर्ब चार करोड ७८ लाख ९२ हजार १० रुपैयाँ बराबरको कारोबार भएको थियो।
कारोबारमा होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। होटल तथा पर्यटन समूह २३९.५१, जीवन बीमा ११.९६, उत्पादन तथा प्रशोधन १५.०१ र व्यापार समूह २.३६ अङ्कले बढेको छ।
सबैभन्दा धेरै विकास ब्यांक समूहको उपसूचकमा ५२.०५ अङ्कको गिरावट देखिएको छ। त्यस्तै, ब्यांकिङ ९.९९, वित्त २८.०४, जलविद्युत् ४१.८७, लगानी १.२०, लघुवित्त ४०.३८, म्युचुअल फन्ड ०.१३, निर्जीवन बीमा ०.८३ र अन्य समूह ८.३० अङ्कले घटेका छन्।