उपप्राध्यापक चलाउनेमाथि आक्रमणको मुद्दा फिर्ता लिने निर्णय विरुद्ध सर्वोच्चमा रिट
ज्यान मार्ने उद्योगमा नेपाली कांग्रेसका कार्यकर्ता विरुद्ध परेको मुद्दा फिर्ता लिने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।
कांग्रेस कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध पीडित त्रिभुवन विश्वविद्यालय उपप्राध्यापक प्रेमबहादुर चलाउनेले बुधबार सर्वोच्चमा रिट दिएका हुन्। रिटमा सरकारको निर्णय खारेज गर्न आदेश माग गरिएको छ।
उपप्राध्यापक चलाउनेमाथि कांग्रेसको भ्रातृ संगठन नेविसंघ केन्द्रीय क्याम्पस एकाइका पदाधिकारी हरि आचार्य र योगेन्द्र रावल सहित सात जनाले आक्रमण गरेका थिए। लाठी र रडले हान्दा चलाउनेको एउटा खुट्टा भाँचिएको थियो भने घाँटी र छातीमा चोट लागेको थियो।
उनीहरू विरुद्ध जिल्ला अदालत, काठमाडौंमा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको थियो। घटना लगत्तै भागेका आचार्य र रावल अदालतमा हाजिर भएका थिए।
तीन वर्षसम्म अभियुक्तको बयान, साक्षी र पीडितको बकपत्रमै अल्झिएको यो मुद्दाको असार ५ मा पेशी तोकिएको थियो। तर, त्यसअघि नै जेठ ३० गते सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको थियो।
सरकारको निवेदन सरकारी वकीलको कार्यालय मार्फत अदालतमा पुगेपछि चलाउने तीन दिनदेखि विश्वविद्यालय कुलपति कार्यालय परिसरमा आमरण अनशन बसिरहेका छन्।
२०७८ असारमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने लगत्तै आफ्ना कार्यकर्ता सामेल यो मुद्दा फिर्ता लिने प्रयास भएको थियो। सोही वर्ष माघमा नेविसंघ र कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंले मुद्दा फिर्ता लिन गृह मन्त्रालयमा निवेदन नै दिएका थिए।
त्यसपछि जिल्ला प्रशासन कार्यालयको राय लिएर गृहले महान्यायाधिवक्ताको राय मागेको थियो। २०७९ जेठमा महान्यायाधिवक्ताको कार्यालयले यो अभियोग फिर्ता लिने सूचीमा रहेको राय दिएको थियो। तर, अभियुक्त छुटाउन कांग्रेस पार्टी र राज्य संयन्त्र लागेको भन्दै आलोचना भएपछि देउवा सरकार हच्किएको थियो।
कांग्रेससँगकै सत्ता साझेदारीमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल नेतृत्वको सरकारले अहिले आएर मुद्दा फिर्ता लिने निर्णय गरेको हो। सरकारको निवेदन जिल्ला अदालतले स्वीकृति गरे मात्र मुद्दा फिर्ता हुन्छ।
त्यस अगावै सर्वोच्च अदालतमा रिट परेको हो। रिटमा सरकारको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न-नगराउन आदेशको माग गरिएको छ।
यस रिटमाथि सर्वोच्च अदालतले बिहीबार पेशी तोेकेको छ। यसमा उपप्राध्यापक चलाउनका तर्फबाट ओमप्रकाश अर्याल, स्वागत नेपाल, वसन्त जोशी, राधिका खतिवडा, हरि पंगेनी, सुनिता रावत बस्नेत, रामबहादुर खड्का, सुरज बस्नेत लगायत कानून व्यवसायीले बहस गर्न वकालतनामा दिएका छन्।