बाढीको लेदोमा आफन्तको खोजी
बाढी र पहिरोका कारण चार दिनदेखि हराइरहेका पूर्वी पहाडका २७ जना सर्वसाधारण अझै भेटिएका छैनन्।
मनसुन भित्रिएसँगै पूर्वी पहाडमा लगातार वर्षा भइरहेको छ। जसले गर्दा ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुरमा जनधनको क्षति भएको छ। चारै जिल्लामा आठ जनाले ज्यान गुमाएका छन् भने २७ जना हराइरहेका छन्।
असार २ गते संखुवासभाको हेवा खोलामा आएको बाढीले बगाउँदा तीन जनाको मृत्यु भएको थियो। बाढी र पहिरोमा परेर संखुवासभामा मात्रै २१ जना हराइरहेका छन्।
उनीहरूमध्ये हेवा खोलाको बाढीले बगाउँदा १८ जना हराएका छन्। उनीहरू चैनपुर नगरपालिकामा रहेको जलविद्युत् आयोजनामा काम गरिरहेका थिए।
अहिले स्थानीय बासिन्दा र सुरक्षाकर्मीले हेवा खोला किनारमा खोजी जारी राखेका छन्। खोलाको दुवैतिर किनारमा बाढीले बगाएको लेदो छ। त्यही लेदोमा स्थानीय बासिन्दा आफन्तको खोजिरहेका छन्।
असार २ गते राति आएको बाढीले उनीहरू सम्पर्कविहीन भएका थिए। त्यसको भोलिपल्टदेखि खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ।
हेवा खोला किनारमा खोजबिनका लागि हराएका सर्वसाधारणका आफन्तसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि परिचालन गरिएको छ। बाढी र पहिरोमा हराएकाहरूको खोजी जारी रहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए।
त्यस्तै, बाढी र पहिरोमा परी ताप्लेजुङ र पाँचथरमा तीन-तीन जना हराइरहेका छन्। उनीहरूको पनि खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।