सुरक्षा माग्दै पूर्व बालसेना मानव अधिकार आयोगमा
माओवादी सशस्त्र द्वन्द्वकालका बालसेनाले जीउधनको सुरक्षा माग्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन्।
पूर्व बालसेनाले प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईबाट आफूहरूलाई असुरक्षा भएको भन्दै असार ६ मा आयोगमा निवेदन दिएका हुन्।
उनीहरूले निवेदनमा भनेका छन्, “हामी द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी)द्वारा सञ्चालित जनयुद्धमा प्रयोग गरिएका बालसेनालाई जनयुद्धको नेतृत्वकर्ताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई लगायतले सम्मानित सर्वोच्च अदालतमा उनीहरू विरुद्ध मुद्दा हालेको भनी धाक-धम्की दिने, ज्यानै मारिदिन्छौं, सफाया गर्छौं भन्ने, मनोवैज्ञानिक दबाब दिई मानसिक यातना दिने, सम्मानित अदालत परिसरभित्र र बाहिर पनि अनावश्यक हुलहुज्जत गरिरहेकाले हाम्रो र हाम्रा परिवारको सदस्य समेतको जीउ धन र वैयक्तिक स्वतन्त्रताको रक्षा गरी पाऊँ।”
पूर्व बालसेनाहरूका तर्फबाट आफूले आयोगमा निवेदन दर्ता गरेको लेनिन विष्टले जानकारी दिए। निवेदनमा भनिएको छ, “हाम्रो रिटमाथि यही असार १९ मा साधारण तारेख तोकिएको दिन र त्यसभन्दा अघिपछि पनि निजहरूबाट दुर्व्यवहार हुने सूचना मिलेकाले हामी निवेदक लगायतलाई शान्ति सुरक्षा लगायत आवश्यक प्रबन्ध गरी निम्न सूचना उपलब्ध गरिपाऊँ।”