हेटौंडा सिमेन्ट उद्योगमा आजबाट पुनः उत्पादन शुरू
भारत, इन्डोनेशिया र भूटानबाट गुणस्तरीय कोइला आपूर्ति गरेपछि आजैबाट उद्योगले पुनः उत्पादन थालेको हो।
दुई महीनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले आज बिहानबाट पुनः उत्पादन शुरू गरेको छ। उद्योगले सिमेन्टका साथै सिमेन्ट बनाउन प्रयोग हुने ‘क्लिङ्कर’ को उत्पादन पनि थालेको छ।
उद्योग व्यवस्थापनका अनुसार यसअघि क्लिङ्कर उत्पादनका लागि चाहिने आगो बाल्ने भट्टीमा विभिन्न उपकरण बिग्रिनुका साथै कोइलाको अभाव भएकाले सिमेन्ट उत्पादन बन्द गर्नुपरेको थियो। हाल बिग्रिएका उपकरण मर्मत गरी उद्योग सञ्चालनमा आएको हो।
उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योगले बोलपत्र आह्वान गरेर भारत, इन्डोनेशिया र भूटानबाट गुणस्तरीय कोइलाको आपूर्ति गरेको बताए। उनले प्रथम र दोस्रो चरणमा गरी एक हजार ८०० मेट्रिक टन कोइला आइसकेकाले आजैबाट उत्पादन शुरू गरिएको जानकारी दिए। उनका अनुसार बाँकी एक हजार २०० मेट्रिक टन कोइला यही असार मसान्तभित्र आपूर्ति हुनेछ।
महाप्रबन्धक पाण्डेले सिमेन्ट उद्योगलाई १६ हजार मेट्रिक टन गुणस्तरीय कोइला आवश्यक पर्ने भए पनि आर्थिक अभावका कारण एकै पटक कोइला खरीद प्रक्रिया अगाडि बढाउन कठिनाइ भएको उल्लेख गरे।
हेटौंडा सिमेन्ट उद्योगमा चार दशक पुराना उपकरण रहेकाले पनि वेलावेला उक्त उपकरण बिग्रिएर मर्मत गर्नुपर्ने भएकाले उत्पादन बन्द गर्नुपरेको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए। “यसरी सञ्चालित उद्योग बन्द गर्नुपर्दा करोडौंको क्षति भएको छ। अब नयाँ प्रविधि भित्र्याएर उद्योगलाई आत्मनिर्भर बनाउनेतर्फ योजना बनाएर कार्यान्वयन गर्नेछौं,” उनले भने।
हेटौंडा सिमेन्ट उद्योगले २०४३ मंसीर २६ गतेदेखि उत्पादन थालेको थियो। उद्योगले सिमेन्ट उद्योग उत्पादन बन्द गरे पनि उद्योगको भण्डारणमा रहेको सिमेन्ट प्याकिङ गर्नुका साथै काठमाडौंं लगायत विभिन्न शहरमा सिमेन्टको आपूर्ति गरिरहेको कर्णले बताए।
उद्योगले सिमेन्ट उत्पादनका लागि नयाँ उपकरण खरीद गरी जडान गर्न र नयाँ प्रविधि सहित उद्योग सञ्चालन गर्न प्रधानमन्त्रीका साथै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई पत्राचार गरी अनुरोध गरिएको महाप्रबन्धक पाण्डेले जानकारी दिए। -रासस