पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै
रु.२२ अर्ब लगानीमा निर्माण भएको विमानस्थलमा उद्घाटनको दिन हिमालय एअरलाइन्सले परीक्षण उडान गरेको थियो। त्यसयता सिचुवान एअरलाइन्सको यो पहिलो अन्तर्राष्ट्रिय उडान हुन लागेको हो।
व्यावसायिक रूपमा सञ्चालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै छ। चिनियाँ विमान कम्पनी सिचुआन एअरलाइन्सले पोखरामा सीधा चार्टर्ड उडान भर्न लागेको हो।
विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सिचुवान एअरलाइन्सको एअरबस ए–३१९ विमान आज बिहान ९:३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती सहितको टोलीले उक्त उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गर्ने कार्यक्रम छ।
पर्यटनमन्त्री किराँतीले चीनबाट आउने चार्टर्ड उडानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पाउँदा उत्साहिती भएको बताएका छन्। पर्यटकले पोखराका सबै होटल खचाखच भएको सुन्न पाउँदा आफू हर्षित भएको पनि उनले बताएका छन्।
उक्त विमानबाट हाल चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली टोली तथा आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डशिप ड्रागन बोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक गरी १३५ यात्रु पोखरा ओर्लने बताइएको छ। सिचुवान एअरलाइन्सको उक्त विमान पोखरामा करीब एक घण्टा रोकिएर त्यसपछि मध्याह्न काठमाडौं उड्ने गरी उडान तालिका तय गरिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत १ जनवरी (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए। विमानस्थल रु.२२ अर्ब लगानीमा निर्माण भएको हो। विमानस्थल उद्घाटनको दिन हिमालय एअरलाइन्सले परीक्षण उडान गरेको थियो। त्यसयता सिचुवान एअरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान हुन लागेको हो।
चीनको सिचुआन एअरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एअरलाइन्सबीच यही असार १ गते सम्झौता भएको थियो। उक्त एअरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो। -रासस