रोनाल्डोको विश्व कीर्तिमान: २००औं अन्तर्राष्ट्रिय खेल, १२३औं अन्तर्राष्ट्रिय गोल
“मेरा लागि यो अकल्पनीय उपलब्धि हो। विजयी गोल गर्नु अझ विशेष हो,” खेलपछि रोनाल्डोले भने।
पोर्चुगलका चर्चित फूटबलर क्रिस्टियानो रोनाल्डोले २००औं अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन्। यूरो कप २०२४ को छनोट अन्तर्गत गएराति आइसल्यान्ड विरुद्धको फूटबल खेलमा उनले २०० अन्तर्राष्ट्रिय क्याप जित्ने पहिलो पुरुष खेलाडीको कीर्तिमान बनाएका हुन्।
यस उपलब्धिका लागि उनलाई ‘गिनिज वर्ल्ड रेकर्ड’ को प्रमाणपत्र पनि दिइएको थियो। रोनाल्डोले सन् २००३ मा पोर्चुगलका लागि पहिलो खेल खेलेका थिए।
३८ वर्षीय रोनाल्डोले गएरातिकै खेलको ८९औं मिनेटमा एक गोल पनि गरे। उक्त गोल नै पोर्चुगलको जितमा निर्णायक पनि सावित भयो। पोर्चुगल १-० गोल अन्तरले विजयी भयो। उक्त गोल शुरूमा अफसाइड भनिए पनि पछि भीएआरले गोलको मान्यता दिएको थियो।
यो रोनाल्डोको १२३औं अन्तर्राष्ट्रिय गोल थियो। जुन आफैंमा अर्को विश्व कीर्तिमान पनि हो। पाँच पटकका ‘बलोन डी ओर’ विजेता रोनाल्डो पुरुषतर्फ सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन्।
“मेरा लागि यो अकल्पनीय उपलब्धि हो। विजयी गोल गर्नु अझ विशेष हो,” खेलपछि रोनाल्डोले भने। उनले आफ्नो टीमले त्यति उत्कृष्ट नखेले पनि आफूहरू जितका लागि योग्य भएको बताए।