लुम्बिनीमा सङ्कलित अपरिवर्तनीय मुद्रा साटियो
नेपाल राष्ट्र ब्यांकको परिवर्त्य विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले दान बापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन सकेको थिएन।
लुम्बिनीमा दान बापत सङ्कलित विभिन्न देशका ५४ लाख २९ हजार रुपैयाँ बराबरको रकम नेपाल राष्ट्र ब्यांक मार्फत सटही भएको छ। लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई सहितका पदाधिकारी र राष्ट्र ब्यांकको पहलमा वर्षौंदेखि सटही हुन नसकेका दान बापतको अपरिवर्तनीय मुद्रा पहिलो पटक सटही भएको हो।
गत चैत २२ गते कोषका तर्फबाट कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र ब्यांकका तर्फबाट सिद्धार्थनगर शाखाका कायममुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच मुद्रा सटही गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि चैत २७ गते राष्ट्र ब्यांक सिद्धार्थनगर शाखालाई उक्त मुद्रा पठाइएको थियो।
कोषले मुचुल्का उठाएर श्रीलंका, म्यानमार, भियतनाम, कम्बोडिया, बाङ्लादेश लगायत देशका मुद्रा सटहीका लागि राष्ट्र ब्यांक भैरहवा कार्यालयले सीआईएमबी ब्यांक सिंगापुर पठाएको कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए।
नेपाल राष्ट्र ब्यांकको परिवर्त्य विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले दान बापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन सकेको थिएन। उनले लुम्बिनीमा विदेशी नागरिकले पवित्र भावनाले दान गरेको रकम नसाटिएर कागज बराबर भएकामा पटक पटकको प्रयासपछि सटही भएर आएको बताए।
राष्ट्र ब्यांक सिद्धार्थनगरका उपनिर्देशक जीवनप्रकाश पाण्डेका अनुसार अहिले भने सिंगापुरस्थित सीआईएमबी ब्यांकबाट राष्ट्र ब्यांकको खातामा रु.५४ लाख २९ हजार ७३१ प्राप्त भएको छ। केही मुद्रा पुरानो भएकाले सटही हुन नसकेको उल्लेख गर्दै उनले पठाइएकामध्ये ९० प्रतिशत मुद्रा सटही भएर आएको बताए।
सोमबार राष्ट्र ब्यांकको खातामा रकम आएको र अब लुम्बिनी विकास कोषमा रकम पठाइने पाण्डेले बताए। -रासस