मानव कंकाल कसरी पुग्यो बञ्चरेडाँडा? सरोकारवाला भन्छन्– बोल्न मिल्दैन
१२ वर्षसम्म सुरक्षित राख्नुपर्ने शव जथाभावी फालेर आईओएमको फरेन्सिक विभागले प्रचलित कानून उल्लंघन गरेको छ। काठमाडौंको फोहोर व्यवस्थापन गरिंदै आएको बञ्चरेडाँडा पुर्याइएका मानव कंकालबारे अहिले बोल्न नमिल्ने सरोकारावालाहरू बताउँछन्।
२० जेठमा बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर टिप्ने क्रममा सूर्य तामाङले फोहोरको थुप्रोमा मानव कंकाल भेटिएको भन्दै फेसबूकमा पोस्ट हाले। ‘यो भिडियो बञ्चरेडाँडा ल्यान्डफिल साइटको हो। यस्तो मरेको गाई, अनि मरेको मान्छेको हड्डी र खप्परहरू फोहोरमैलामा फाल्न पाउने कि नपाउने हो? सम्झौता भएर ल्याएको पो हो कि? यस विषयमा जानकारी भएको कोही बुद्धिजीवी हुनुहुन्छ भने जानकारी गर्नुहुन अनुरोध गर्दछु’ उनले फेसबूकमा लेखेका छन्।
तामाङले फोटो/भिडिओमा कपडाले बेरेको बाकसबाट पाँच वटा मानव खप्पर र शरीरका अन्य कंकाल निकालेको देखिन्छ। उनले उक्त पोस्टमा एउटा मरेको गाईको फोटो समेत हालेका थिए। त्यो भिडिओमा फोहोर टिप्नेहरूले ‘मान्छेको खप्पर रैछ नि’ भनेको सुनिन्छ।
ल्यान्डफिल साइटमा सँगै फोहोर टिप्ने कुमार लामाले देखेपछि भिडिओ खिचेको सूर्य बताउँछन्। कंकालबारे केही नयाँ कुरा थाहा पाइहालिन्छ कि भन्ने लागेर फेसबूकमा हालेको उनले बताए। “कसैले मान्छे मारेर कुहाएर कंकाल हालेको हो कि भन्ने शङ्का लागेर भिडिओ फेसबूकमा हालेको हुँ,” उनले भने।
सूर्यको फेसबूक पोस्ट देखेपछि स्थानीय अमृत बमजनले भेटेर सोधिखोजी गरे। “६ वटा बाकसमा कंकाल थियो। सबैमा गरेर १५/१६ जनाको कंकाल हुनुपर्छ,” बमजन थप्छन्, “हामीले एउटा मात्र कार्टून खोलेका थियौं।”
त्यसपछि बमजनले वडाध्यक्ष र धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलाई लिएर साइटमा गए। त्यस दिन साइटका इन्स्पेक्टर र इन्चार्ज बिदामा भएकाले थप कुरा भएन। त्यसपछि नगरपालिकाका मेयर आचार्यले प्रमुख जिल्ला अधिकारीलाई घटनाबारे जानकारी गराए ।
अनुसन्धानका क्रममा उक्त मानव कंकाल त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का फरेन्सिक विभागको रहेको थाहा भयो। “आईओएमको फरेन्सिक विभागको फ्रिज सफा गर्दा झिकेर राखिएको कंकाल झुक्किएर फोहोरमा परेको भनेर उहाँहरूले ती कंकाल फिर्ता माग्नुभएको छ,” बञ्चरेडाँडाका साइट इन्चार्ज सरकारदीप श्रेष्ठ भन्छन्।
काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख रविमान श्रेष्ठ ती मानव कंकालहरू फिर्ता पठाइदिन आईओएमको फरेन्सिक विभागले महानगरपालिकालाई पत्र पठाएको बताउँछन्। उनका अनुसार उक्त पत्रमा ‘पोस्टमार्टम कक्षबाट सङ्कलन भएको फोहोर व्यवस्थापन गर्ने क्रममा पठनपाठनका लागि राखिएका पुराना हड्डीहरु भूलवश फोहोरसँगै गएको उल्लेख छ। “ती अध्ययन सामग्री फिर्ता पठाइदिनुहुन भन्ने पत्र आएको छ, थप अनुसन्धान प्रहरीले गरिरहेको छ,” श्रेष्ठले हिमालखबरसँग भने।
श्रेष्ठ आफैं फोहोर ढुवानीका विषयमा सोधपुछ गर्न आईओएम पुगेका थिए। “महानगरका तर्फबाट आईओएममा अनुगमन गर्दा भूलवश गएको भन्ने पाइयो, फोहोर ढुवानी गर्ने हिमालयन वातावरण संरक्षण कम्पनीलाई ५० हजार जरिवाना तिराएका छौं,” उनले भने।
गैरकानूनी काम
आईओएमको फरेन्सिक विभागमा जम्मा १५० वटा शव अट्ने पूर्वाधार छ। जसमध्ये १०० भन्दा बढी शव बेवारिसे हुन्छन्। त्यस्ता बेवारिसे शव उनीहरूको आफन्तले खोजी गर्ने भएकाले त्यसको रेकर्ड सुरक्षित राख्नुपर्छ।
त्यस्तै, उक्त विभागमा दुर्घटनाका घाइते, कुनै अपराधिक घटनामा भेटिएका शवहरू समेत राखिन्छ। त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा द्वन्द्वकालमा सेनाले यातना दिएर मारेको मैना सुनारको कंकाल समेत छ। अपराध अनुसन्धान र बेवारिसे शवका आफन्तका लागि फरेन्सिक विभागमा भएका कंकाल सुरक्षित राख्नुपर्छ। यस्ता कंकाल हराउनु वा गैरकानूनी रूपमा व्यवस्थापन गर्नु ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिक २०७८’ विपरीत हो।
निर्देशिका अनुसार कुनै पनि बेवारिसे शव फोहोरमा फाल्न पाइँदैन। कुनै पनि बेवारिसे शव फेला परेमा त्यसको मुचुल्का तयार गरी प्रारम्भिक पहिचान गरिन्छ। त्यसैगरी, थप विधि प्रयोग गरी शव पहिचान गरेपछि ती शवहरू यकीन गर्ने गरिन्छ।
शवको हकवाला, आफन्त पत्ता नलागे वा कसैले दाबी नगरेमा सोको विवरण उल्लेख गरी पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन जिल्ला समितिमा पठाउनुपर्छ। समितिले त्यस्तो शव पहिचान नभएको तथा बेवारिसे शवका रूपमा यकीन गरी सोको विवरण र अभिलेख राख्छ। त्यसपछि उक्त शवको पहिचान खुल्ने गरी त्यसको विवरण केन्द्रको शव व्यवस्थापन पोर्टलमा राखिन्छ। शव व्यवस्थापन पोर्टल मार्फत ती बेवारिसे शव आफन्त हराएर खोजी गरेका मानिससम्म पुग्छ।
यी प्रकियामा जाँदा पनि शवको हकवाला आएन भने त्यसको सम्पूर्ण काम पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन जिल्ला समितिले गर्छ। यो समितिमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आठ जना सदस्य रहन्छन्। समितिले पहिचान नभएका शवका आफन्त खोजी गर्ने, हकवाला भेटिए उनीहरूलाई जिम्मा दिने, त्यस्ता शव सिकाइ प्रयोजनका लागि कुनै शिक्षण अस्पताललाई दिने र अन्त्येष्टि गर्ने अवस्था आएमा अन्त्येष्टि गर्ने गर्छ । शव अन्त्येष्टिपछि हकवाला भेटिएमा त्यसको जानकारी दिने काम पनि समिति अन्तर्गत नै पर्छ ।
अन्त्येष्टि हुनुअघि शवको संरक्षण र भण्डारण नजिकका संघीय, प्रादेशिक र स्थानीय तहका अस्पतालमा रहेका तथा सामुदायिक रूपमा सञ्चालित शव भण्डारण कक्षमा राखिन्छ।
निर्देशिका अनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन सम्भव नभएसम्म अन्तर्राष्ट्रिय मापदण्ड पालना गरी १२ वर्षसम्म सुरक्षित रहन सक्ने गरी राख्नुपर्छ। त्यस्तै, त्यस्ता शव अन्त्येष्टि गर्दा सम्बन्धित प्रहरी कार्यालयले समितिको निर्णय बमोजिम स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका संघसंस्थाको रोहबरमा स्थानीय तहको समन्वयमा अन्त्येष्टि गरी सोको विवरण राख्नुपर्छ। त्यस्तै, शिक्षण अस्पताललाई हस्तान्तरण गरिएको शवको हकमा सिकाइ कार्य सम्पन्न भएपश्चात् सम्बन्धित शिक्षण संस्थाले निर्देशिका पालना गरेर अन्त्येष्टि गर्नुपर्छ।
‘बोल्न मिल्दैन’
निर्देशिका हेर्ने हो भने आईओएमले गम्भीर लापरवाही गरेको देखिन्छ। फरेन्सिक ल्याबमा भएका शव या तिनका कंकाल व्यवस्थापन गर्ने प्रकिया पूरा भएको देखिन्न। आईओएम फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरी यो विषयको अध्ययन गर्न आन्तरिक छानबिन कमिटी गठन गरेको बताउँछन्। “फरेन्सिक ल्याबका ती कंकाल कसरी बञ्चरेडाँडा पुगे भन्ने कुरा हाम्रो कमिटीले अध्ययन गरिरहेको छ, अहिले रिपोर्ट आइनसकेकाले बोल्न मिल्दैन,” चौधरीले भने।
उक्त शव अहिले नुवाकोट जिल्ला प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक रमेश पण्डित प्रहरीले अनुसन्धान गरिरहेको विषयमा अहिले बोल्न नमिल्ने बताउँछन्। “मानव कंकाल यसरी फोहोरको थुप्रोमा फाल्नु नै गैरकानूनी हो, यो किन र कसरी यहाँ आइपुग्यो भन्ने विस्तृत रिपोर्टिङ आएपछि सार्वजनिक गर्छौं।”