कानून मन्त्री सिंह सहित तीन जनाको दुर्घटनामा निधन
सुदूरपश्चिम प्रदेश सरकारका कानून मन्त्री पृथ्वीबहादुर सिंह सहित तीन जनाको दुर्घटनामा निधन भएको छ।
धनगढीबाट बझाङ जाने क्रममा असार ५ गते गाडी दुर्घटनामा परी घाइते भएका कानून मन्त्री सिंह, उनकी पत्नी र भाउजूको मृत्यु भएको प्रदेश सांसद गीता चौधरीले जानकारी दिइन्।
प्रहरीका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय सिंह, उनकी पत्नी ५० वर्षीया अमृता सिंह र भाउजू ६५ वर्षीया जयादेवी सिंह छन्। गाडी दुर्घटनामा परेका मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा र उनकी पत्नी अमृता तथा भाउजू जयाको बझाङको देउरास्थित पोलिक्लिनिकमा मृत्युको घोषणा गरिएकाे हाे।
सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको हो।
बझाङस्थित रितु पोलिक्लिनिकमा मन्त्री सिंहको सामान्य उपचारपश्चात् रेफर गरी बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार शुरू भएको थियो। रितु पोलिक्लिनिकका डाक्टर रञ्जित चौरासियाले मन्त्री सिंहको टाउकोमा गम्भीर चोट देखिएको बताए।
उनीसँगै गाडी चालक धर्मराज जोशी, मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवल्दार दीपक भण्डारीको अवस्था पनि गम्भीर छ। उनीहरूलाई पनि मन्त्रीसँगै हेलिकोप्टर मार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ।