लोहान्द्रा खोला पस्यो जहदाको बस्तीमा
लोहान्द्रा खोलाको बाढी पस्दा मोरङ जहदा ७ भिमपुर र निमटोलका ३ सय घर डुबानमा परेका छन् ।
खोलाको बाँध भत्किएर भेल बस्तीमा पसेको हो । शुक्रबार बिहानैदेखि बस्तीमा पसेको बाढीले गाउँका धेरै कच्ची घर कटान गर्न थालेको छ । वडाध्यक्ष भगवान बेस्राका अनुसार, एउटा वडामा मात्रै ३ सय जति घर डुबेका छन् ।
२०७४ को बाढीले भत्काएको बाँध पुनः निर्माण गरिए पनि यस पटकको बाढीले पुनः भत्काएको उनले बताए । डुबान पीडितहरूले भने राहत नपाएको गुनासो गरेका छन् ।
स्थानीय लरुवतीदेवी यादवका अनुसार, आज बिहानैदेखि स्थानीयका घरमा खाना पाक्न सकेको छैन ।
यहाँका बासिन्दाका लागि बाढी पाहुना जस्तै भएको जहदा गाउँ कार्यपालिका सदस्य बिनिता सिंहले बताइन् । लोहान्द्राको बाढीले जहदा, १, २, ४ र ७ वडामा गरी १ हजार ५ सय घर डुबानमा परेको गाउँपालिकाका अधिकृत राजेन्द्र पराजुलीले बताए ।
कतिपय डुबान क्षेत्रका पीडितहरूका लागि बिहानैदेखि राहत वितरण भइरहेको उनको भनाइ छ ।
आज बिहान वडा नम्बर ४ स्थित रामचोकमा रहेको लोहान्द्रा खोलाको पुलमाथिबाट पानी बगेको थियो । पुलदेखि उत्तर पश्चिममा रहेका दुईवटा कच्ची घर खोलाले बगाएको छ ।
वडाअध्यक्ष यजनरथकृष्ण गिरीले खोलाको तटबन्ध बलियो बनाउंन स्थानीय, प्रदेश र संघीय सरकारलाई पटक पटक गुहार गरेपनि सुनुवाइ नभएको बताए ।
यस्तै लोहान्द्रा खोलाको बाढीले डुबानमा परेका कटहरी ४ का ३ सय बढी परिवारलाई वडा कार्यालयले शुक्रबार खाद्यान्न वितरण गरेको छ ।
यसैगरी केशलिया खोलाको बाढी पस्दा विराटनगर ६, १२ र १६ नम्बर वडाका सय घर डुबानमा परेका छन् । घर डुबानमा परेपनि सर्वसाधारणलाई उद्धार गर्नुपर्ने अवस्था भने छैन ।
तर, महानगरपालिकाले स्थानीयलाई सचेत पार्दै डुबानमा परेका परिवारलाई नजिकैको विद्यालयमा गएर बस्न आग्रह गरेको छ ।