अन्तर्राष्ट्रिय उडान दिगो बनाउन पोखरा तयार छैन?
अन्तर्राष्ट्रिय विमानस्थलमा डिपो नबन्दा ६ किमि टाढाको पुरानो विमानस्थलबाट हवाई इन्धन ओसार्नुपर्ने बाध्यता छ। ‘शटल बस’ समेत छैन।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुँदै छ। चीनको सिचुवान एअरलाइन्सका दुई चार्टर्ड विमान पोखरा आउने तयारी छ।
यी विमान नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा असार ८ र ९ गते हुने ‘ड्रागन वोट फेस्टिभल’ का सहभागी बोकेर आउन लागेका हुन्।
पोखरामा यसअघि हिमालय एअरलाइन्सले परीक्षण उडान गरेको थियो। सिचुवान एअरलाइन्सको भने पोखरामा पहिलो व्यावसायिक उडान हुनेछ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी यो उडानपछि पोखरामा निरन्तर व्यावसायिक उडान हुने अपेक्षा गरिएको बताउँछन्।
रु.२२ अर्ब लगानीमा बनेको विमानस्थल अब निरन्तर अन्तर्राष्ट्रिय उडानका लागि तयार छ त? विमानस्थल प्रमुख विक्रम गौतम भन्छन्, “तयारी भइरहेकै छ। प्रक्रियागत हिसाबमा जाँदा केही समय लाग्न सक्छ।”
व्यावसायिक उडानका लागि पोखरामा अझै थुप्रै अवरोध छन्। विमानस्थल निर्माणाधीन छँदै पहल थालिएको हवाई इन्धन भण्डारण डिपो बनिसकेको छैन। यसले उडान प्रभावित पार्न सक्छ।
अहिले झन्डै ६ किलोमिटर परको पुरानो विमानस्थलबाट ल्याएर जहाजमा इन्धन भर्नुपर्ने अवस्था छ। व्यस्त सडक र मानव बस्तीको बीचबाट हवाई इन्धन ओसारिरहनुपर्दा जोखिम बढेको छ। उद्घाटनको ६ महीनायता अन्तर्राष्ट्रिय विमानस्थलले यसै गरेर इन्धन जोहो गरिरहेको छ।
यसरी बाहिरबाट इन्धन ओसार्नु जोखिमपूर्ण रहेको विमानस्थल प्रमुख गौतम स्वीकार गर्छन्। “विमानस्थलभित्रै डिपो राख्न पहिलेबाटै प्रक्रिया थालिएको हो, तर ढिलाइ भयो । अरू उपाय नभएपछि पुरानो विमानस्थलबाट ल्याउनुपरेको हो,” उनी भन्छन्।
अहिले नेपाल आयल निगमको करीब ६८ करोड रुपैयाँ लागतमा ३६ सय किलोलिटर क्षमताको भण्डारण ट्यांक निर्माणाधीन छ। नयाँ विमानस्थलमा ट्यांक सहित अग्नि नियन्त्रक उपकरण, डिपो कार्यालय, लोडिङ/अनलोडिङ पूर्वाधार र सुरक्षा कम्पाउन्ड सहितको पूर्वाधार बन्ने गौतम बताउँछन्। “हवाई इन्धन डिपो तयार हुन अझै १८ महीना लाग्छ,” उनी भन्छन्।
विमानस्थलमा ‘शटल बस’ सुविधा नहुँदा यात्रुले आवतजावतमा सास्ती भोग्नुपरेको छ। विमानस्थल परिसरमा आउजाउ गर्न महँगो ट्याक्सी भाडा तिनुपर्ने अवस्था छ। विद्युतीय ‘शटल बस’ महँगो भएकाले तत्काल ल्याउन नसकिएको गौतम बताउँछन्। “महानगरपालिकाको सहकार्यमा बस ल्याउनेबारे छलफल भइरहेको छ,” उनी भन्छन्।