सांसदहरूले भने– कृपया प्रेम चलाउनेलाई न्याय दिनुस्
सांसदहरूले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको मुद्दा फिर्ता लिने सरकारको निर्णय खारेज गर्न माग गरेका छन्।
नेपाल विद्यार्थी संघका कार्यकर्ताले २०७७ सालमा चलाउनेमाथि सांघातिक आक्रमण गरेका थिए। आफूलाई ज्यान मार्ने उद्योग गरेको भन्दै चलाउने अदालत गएका थिए।
सरकारले जेठ ३० गते चलाउनेको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो। उक्त निर्णय सरकारले खारेज गर्नुपर्ने सांसदहरूको माग छ।
नेकपा (एमाले) सांसद विद्या भट्टराईले ५ असारमा बसेको प्रतिनिधि सभा बैठकमा भनिन्, “अदालतमा विचाराधीन ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता लिनु न्यायालयमाथिको सरकारको ठाडो हस्तक्षेप हो। सरकारले उक्त निर्णय फिर्ता गरोस्।”
ज्यान मार्ने उद्योग गरेको मुद्दा फिर्ता गर्दा ‘अपराधीहरू मात्रै बाँच्न सक्ने’ सन्देश जाने भट्टराईको धारणा थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि सरकारले मुद्दा फिर्ताको निर्णय खारेज गर्नुपर्नेमा जोड दिए।
बैठकमा परियारले भने, “प्रहरी पनि भित्र जान पाउँदैनन् भन्ने हाम्रो शान्तिको मान्यतालाई गुन्डागर्दीको शैलीमा दिनदहाडै कुटपिट गरेर मरणासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो? न्यायलाई मर्न नदिऔं। गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु- कृपया, यो गल्ती सच्याउनुस्। पीडितलाई न्याय दिनुस्।”