एमाले सांसदहरूको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित
नेकपा (एमाले)का सांसदहरूको विरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगन भएको छ।
सहरी विकास मन्त्रालयले तयार पारेको दस्तावेजमा ‘लुम्बिनी प्रदेश’ लाई ‘प्रदेश ५’ लेखेको भन्दै एमाले सांसदहरूले बैठकमा विरोध गरेका थिए। एमाले सांसदहरू छविलाल विश्वकर्मा, रघुजी पन्त र सूर्य थापाले सहरी विकास मन्त्रालयको नाम नसच्चिएसम्म बैठक अगाडि नबढ्ने बताएका थिए।
सहरी विकासमन्त्री सीता गुरुङले त्रुटि भए सच्याउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्। तर पनि, एमाले सांसदहरूले विरोध जारी राखे।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सभामुखबाट रुलिङ भइसकेकाले बैठक जारी राख्नुपर्ने धारणा राखेका थिए।
यस विषयमा कांग्रेस र एमालेका सांसदहरूबीच सवालजवाफ हुन थालेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगन गरेका हुन्।