माटोको ढिस्कोमा पुरिएका दुई मजदूरको मृत्यु
मुग्लिङ-पोखरा सडकखण्ड अन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर तीन जना घाइते भएका थिए।
तनहुँको म्याग्दे गाउँपालिका–१, गुणादीमा सोमबार साँझ माटोको ढिस्कोमा पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणका अनुसार घाइतेमध्ये भुजेलको दमौली अस्पतालमा र राईको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो।
यस्तै, ढिस्काले पुरिएर घाइते भएका झापा शिवशताक्षी–७ बस्ने ४५ वर्षीय कृष्ण लिङ्देनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर तीन जना घाइते भएका थिए। -रासस