बाढीमा फसेका चालक र सहचालकको आठ घण्टापछि उद्धार
बालुवा लिन जाँदा बाढीका कारण रावा खोलाको टापुमा फसेका चालक र सहचालकलाई आठ घण्टापछि उद्धार गरिएको छ।
खोलाबाट बालुवा निकाल्ने क्रममा बाढीमा फसेका चालक र सहचालकलाई करीब आठ घण्टापछि उद्धार गरिएको छ। प्रदेश २–०१–००१प १८७३ नम्बरको ट्र्याक्टर चालक युवराज सार्की र सहचालक विवेक मगरको उद्धार भएको हो।
उनीहरू खोटाङको रावाबेसी गाउँपालिका–१, कुभिन्डे र वडा नम्बर ४, डुम्रेधारापानी बीचको कटहरेबेसीमा रावा खोलाको भँगालोको बीचमा रहेको टापुमा बालुवा झिक्न जाँदा सोमबार दिउँसो ३ बजे बाढीमा फसेका थिए। पछि राति पौने १२ बजेतिर जेसीभीको बकेटमा बसाएर उनीहरूको उद्धार गरिएको रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए।
सार्की रावाबेसी गाउँपालिका–१, कुभिन्डे र मगर रावाबेसी गाउँपालिका–२, खार्पाका बासिन्दा हुन्। उनीहरू स्थानीय रत्न आधारभूत विद्यालयको भौतिक संरचना निर्माणका लागि आवश्यक बालुवा लिन रावा खोला पुगेका थिए। उनीहरू बाढीमा फसेपछि खोला किनारमा आफन्तको रुवाबासी चलेको थियो।
“बालुवा लोड गर्दागर्दै ठूलो बाढी उर्लिएर आउँदा टापुमै अड्किएछन्,” अध्यक्ष श्रेष्ठले भने, “राति बाढी केही घट्यो। खोला फिंजिएको ठाउँमा बीचसम्म जेसीभी लगेर बकेटमा बस्न लगाएर उद्धार गरेका हौं।”