विश्वकप छनोट: नेपाल आज अमेरिका विरुद्ध भिड्दै
आफ्नो पहिलो खेलमा हार बेहोरेका दुवै टोली आज जितको अपेक्षा सहित मैदानमा उत्रनेछन्।
जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आज नेपालले अमेरिकाको सामना गर्दै छ। अमेरिका विरुद्धको खेल नेपाली समय अनुसार १२:४५ बाट शुरू हुनेछ।
यसअघि घरेलु टोली जिम्बावे विरुद्धको पहिलो खेलमा नेपाल आठ विकेटले पराजित भएको थियो। यस्तै, वेस्ट इन्डिज विरुद्धको पहिलो खेलमा अमेरिका ३९ रनले पराजित भएको थियो। त्यसैले आज दुवै टोली जितको खोजीमा हुनेछन्।
पछिल्ला पाँच एकदिवसीय खेलको आँकडा हेर्ने हो भने नेपालले चार जित र एक हार बेहोरेको छ भने अमेरिकाले तीन जित र दुई हार बेहोरेको छ।
यो प्रतियोगितामा नेपाल सहित १० टोली प्रतिस्पर्धामा छन्। जसमध्ये फाइनलमा पुग्ने दुई टोली १३औं संस्करणको आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन्। आउँदो अक्टोबर-नोभेम्बरमा भारतमा हुने उक्त विश्वकपमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमध्ये आठ टोली छनोट भइसकेका छन्।
नेपाल प्रतियोगितामा समूह ‘ए’ मा छ। यो समूहमा नेदरल्यान्ड्स, अमेरिका, वेस्ट इन्डिज र जिम्बावे छन्। समूह ‘बी’ मा ओमान, स्कटल्यान्ड, श्रीलंका, आयरल्यान्ड र यूएई छन्।