मोर्चाबारे ज्ञवालीको टिप्पणी: एउटै पार्टी बनाए पनि काम छैन
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले समाजवादी मोर्चा निर्माणको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन्।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा मिलेर असार ४ मा समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन्। समाजवादतर्फको यात्रा सहज बनाउन मोर्चा निर्माण गरिएको उनीहरूले बताएका छन्।
एमाले उपमहासचिव ज्ञवालीले भने समाजवादी मोर्चा सत्ता स्वार्थका लागि मात्रै निर्माण गरिएको टिप्पणी गरे। उनले हिमालखबरसँगको संक्षिप्त कुराकानीमा भने, “यो सत्ता स्वार्थका लागि गरिएको तालमेल हो। मोर्चा मात्रै होइन, पार्टी बनाए पनि काम छैन।”
उनले तीन बुँदामा यसको अर्थ नरहने जिकिर गरे। पहिलो, यो सत्ता स्वार्थकेन्द्रित भएकाले कुनै अर्थ नभएको जिकिर गरे। दोस्रो, नेताहरूमा सिर्जना भएको अस्तित्वको भयका कारण बनाइएकाले कामकाज नहुने उनको भनाइ थियो।
तेस्रो, नीति, कार्यक्रम र आचरणमा पूँजीवादी शक्तिसँग सामञ्जस्य मिलाउने मात्रै भएकाले समाजवादको कुरा देखावटी मात्रै भएको उनको दाबी छ। यस्तो अवस्थामा मोर्चा बनाएर कुनै ठोस काम नहुने ज्ञवालीको भनाइ छ।