बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या आठ पुग्यो, २७ जना सम्पर्कविहीन
पूर्वी नेपालमा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या आठ पुगेको छ भने २७ जना हराइरहेका छन्।
दुई दिनयताको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी ताप्लेजुङमा तीन जना, पाँचथरमा तीन जना, संखुवासभामा एक र भोजपुरमा एक जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए।
पहिरोमा परी ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ का ३० वर्षीय गणेश तामाङ, ६७ वर्षीय केशर राई र ३६ वर्षीय सुरेश राईको मृत्यु भएको छ। केशर र सुरेश बुबाछोरा हुन्।
पहिरोमा परी पाँचथरको फालेलुङ गाउँपालिका-४ की आठ वर्षीया जमुना साउदेन, हेवा खोलामा आएको बाढीका कारण फिदिम नगरपालिका-११ का २८ वर्षीय सञ्जोग लिम्बू र २५ वर्षीया एलिसा माझीको मृत्यु भएको हो।
संखुवासभाको हेवा खोलामा आएको बाढीका कारण पाँचखपन नगरपालिका-९ का २६ वर्षीय सन्तोष राई र भोजपुर टेम्केमैयूँ गाउँपालिका-८ का ३२ वर्षीय मन्दिप राईको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
एसपी कँडेलका अनुसार बाढीका कारण संखुवासभामा २१ जना हराइरहेका छन्। त्यसमध्ये चैनपुर नगरपालिकामा रहेको जलविद्युत् आयोजनाको काम गरिरहेका १८ जना छन्।
ताप्लेजुङ र पाँचथरमा तीन-तीन जना हराइरहेका छन्। पहिरोले घर पुर्दा ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-६ की ६३ वर्षीया भगीमायाँ बुढाक्षत्री, ३३ वर्षीया सन्ध्या बुढाक्षत्री र नौ वर्षीय प्रज्वल बुढाक्षत्री सम्पर्कविहीन छन्।
बाढी पहिरोका कारण पूर्वी पहाडमा घर, सडक, मोटरेबल पुल, झोलुङ्गे पुल लगायत भौतिक संरचनामा क्षति पुगेको छ।