जलस्रोत विभागका पूर्व महानिर्देशक विरुद्ध साढे तीन करोडको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विभागका पूर्व महानिर्देशक मधुकरप्रसाद राजभण्डारी विरुद्ध अकुत सम्पत्ति कमाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
राजभण्डारीको तीन करोड ५६ लाख ७७ हजार रुपैयाँ बराबरको सम्पत्ति अवैध देखिएको भन्दै सोही बराबर बिगो भराउन र सम्पत्ति जफतको माग गर्दै सोमबार मुद्दा दायर गरिएको हो। यसका साथै उनलाई कैद सजायको माग पनि गरिएको छ।
उनले आफ्नो अवैध आर्जन पत्नी दीपा श्रेष्ठको नाममा समेत राखेको अख्तियारको दाबी छ। स्रोत नखुलेको सम्पत्ति समेत जफत गर्नुपर्ने अख्तियारले माग गरेको छ।
२०५१ सालमा सरकारी सेवामा प्रवेश गरेका राजभण्डारी २०७६ कात्तिकदेखि २०७८ साउनसम्म विभागको महानिर्देशक बनेका थिए।
जागीर अवधिमा राजभण्डारीको कुल आय सात करोड ४२ लाख २९ हजार रुपैयाँ रहे पनि त्यसमध्ये वैध आम्दानी तीन करोड ८५ लाख ५१ हजार रुपैयाँ देखिएको अख्तियारको दाबी छ।