देशभर रोकियो भारतीय फिल्म ‘आदिपुरुष’ को प्रदर्शन
भारतीय फिल्म आदिपुरुषको प्रदर्शन देशभर रोकिएको छ।
काठमाडौंका फिल्म हलहरूले कुनै निर्णय विना नै प्रदर्शन रोकेपछि वितरक कम्पनीले देशभर नै प्रदर्शन रोकेको हो। भारतीय फिल्म आदिपुरुषको नेपाल वितरण कम्पनी ब्यांकटेश फिल्म्सका निर्देशक मनोज राठीले प्रेस विज्ञप्ति जारी गरी सिर्जित अवस्थाका कारण देशभर प्रदर्शन रोकिएको जनाएका छन्।
राठीले भने, “काठमाडौंमा चलचित्र प्रदर्शन रोकिएपछि सिर्जित अवस्थाका कारण हामीले देशभर प्रदर्शन रोक्ने निर्णय लिएका हौं।”
फिल्ममा जानकीलाई भारतकी छोरी भनेर देखाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरभित्र प्रदर्शनमा रोक लगाउने घोषणा गरेका थिए। लगत्तै आज बिहानदेखि काठमाडौंका फिल्म हलले प्रदर्शन रोकेका थिए।
यसैबीच, वितरक तथा प्रदर्शकको छाता संस्था नेपाल चलचित्र संघले भारतीय फिल्ममा रोक लगाएको विषयमा असन्तुष्टि व्यक्त गरेको छ। संघका उपाध्यक्ष गोपालकाजी कायस्थले कानूनी प्रक्रिया मार्फत उपचार खोज्ने बताए।
उपाध्यक्ष कायस्थले भने, “यसरी सम्पूर्ण भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउनु उचित समाधान होइन। हामी यस विरुद्ध कानूनी प्रक्रियामा जान्छौं र निकास खोज्छौं।”