कोशी सरकार र पहिचान पक्षधरको वार्ता निष्कर्ष विना टुङ्गियो
कोशी प्रदेश सरकार र पहिचान पक्षधरको वार्ता निष्कर्ष विना टुङ्गिएको छ।
कोशी प्रदेशको राजधानी विराटनगरमा दुवै पक्षबीच झन्डै पाँच घण्टा वार्ता भएको थियो। अर्को पटक पुनः छलफलमा बस्ने सहमति गरी वार्ता टुङ्गिएको जनाइएको छ।
कोशी सरकारले गठन गरेको वार्ता समितिका संयोजक खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूका स्वकीय सविच कुमार मादेनका अनुसार छलफल सकारात्मक भएको छ।
“आजको वार्तामा छलफलका लागि वातावरण तयार भएको छ,” छिटै फेरि वार्ता हुने बताउँदै मादेनले भने, “प्रदेश नामकरणको विषयलाई लिएर भइरहेको विवाद छिटै टुङ्गो लगाइनेछ।”
वार्तामा सरकारी टोलीका संयोजक लिम्बू सहित सदस्यहरू र आन्दोलनरत पक्षका तर्फबाट गोविन्द आङबुङ, युवराज राई, लाक्पा शेर्पा, रामभक्त कुरुम्बाङ लगायत सहभागी थिए।
प्रदेश सभाले कोशी नामकरण गरेपछि पहिचान पक्षधर आन्दोलन गरिरहेका छन्। लामो समयदेखि चलिरहेको आन्दोलन झन् झन् चर्किंदै गएको छ। जसले गर्दा प्रदेश राजधानीका केही क्षेत्रमा निषेधाज्ञा पनि जारी गरिएको छ।
पहिचान पक्षधरले कोशी नाम परिवर्तन गर्न माग गरिरहेका छन्। पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने उनीहरूको भनाइ छ।