मुद्दा फिर्ता विरुद्ध धर्ना बस्न खोज्दा उपप्राध्यापक चलाउने पक्राउ
मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध धर्नामा बस्न खोज्दा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन्।
नेपाल विद्यार्थी संघमा आबद्ध केही विद्यार्थीले २०७७ असोज २० गते कीर्तिपुरस्थित त्रिवि परिसरभित्रै उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेका थिए। आक्रमण गर्ने नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायत विद्यार्थी विरुद्ध जिल्ला अदालत, काठमाडौंमा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।
त्यस मुद्दामा असार ५ गते पेशी तोकिएको छ। अदालतमा विचाराधीन रहेको मुद्दालाई सरकारले फिर्ता लिने निर्णय गरेको छ।
सरकारको निर्णय विरुद्ध उपप्राध्यापक चलाउने धर्ना बस्न सोमबार जिल्ला अदालत पुगेका थिए। जिल्ला अदालत परिसरमै धर्ना बस्ने उनले बताएका थिए।
उनी जिल्ला अदालत पुगे लगत्तै प्रहरीले पक्राउ गरेको छ। उपप्राध्यापक चलाउने सहित केही जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका एसपी सीताराम रिजालले बताए। अदालत परिसरभित्र नाराबाजी गरेकाले नियन्त्रणमा लिएको उनको भनाइ छ।