११ करोडको लागतमा बन्दै गरेको खानेपानी आयोजना बाढीले क्षतिग्रस्त
संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–११ मा आएको बाढीले पानी तान्ने ठाउँमा रहेका सम्पूर्ण उपकरण तथा संरचनामा क्षति पुर्याएको निर्माण उपभोक्ता समितिका अध्यक्ष उद्धवराज त्रितालले जानकारी दिए।
बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अन्तर्गत अनुमानित ११ करोड ११ लाख आठ हजार ९२७ रुपैयाँको लागतमा निर्माण भइरहेको आयोजनामा बाढीले क्षति पुगेको हो।
बाढीले पानी तान्ने ठाउँ सवा खोला किनारमा रहेको ट्याङ्की बगाएको छ भने त्यहाँ निर्माण गरिएको घर पनि पुरिएको छ। चैनपुर नगरपालिका– ११ मा रहेको यो आयोजनाबाट लाभान्वित हुने भनिएका ३८६ मध्ये १०० परिवारले पानी उपभोग गर्न थालेका थिए।
खोलामा आएको बढीले आयोजनालाई क्षति पुर्याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले जानकारी दिए। निर्माणको अन्तिम चरणमा रहेको आयोजनामा क्षति पुगेपछि समस्या थपिएको उनले बताए। “सवा खोलामा आएको बाढीले आयोजनाको काममा पूर्ण रूपमा क्षति पुगेको छ,” प्रमुख सिंहले भने, “खोला किनारमा रहेका संरचना बगाएको छ, क्षतिको पूर्ण विवरण आउन बाँकी छ। अनुमानित डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।”
आर्थिक वर्ष २०७५/७६ देखि यो आयोजनाको निर्माण थालिएको थियो। बाढीले पानी तान्ने ठाउँमा रहेको सम्पूर्ण उपकरण तथा संरचनामा क्षति पुर्याएको निर्माण उपभोक्ता समितिका अध्यक्ष उद्धवराज त्रितालले जानकारी दिए।
“बाढीले खानेपानी आयोजना सञ्चालनमा अवरोध भएको छ,” उनले भने, “खोला किनार रहेका कुनै पनि संरचना बाँकी छैनन्। सबै पुरिएको अवस्था छ।” -रासस