पहिरोमा परेर छोराको मृत्यु, बाबु सम्पर्कविहीन
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा पहिरोमा परी छोराको मृत्यु भएको छ भने बाबु हराइरहेका छन्।
आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुरेशका बाबु ६७ वर्षीय केशरबहादुर हराइरहेका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवं प्रहरी निरीक्षक कुसराम कार्कीले मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी सुरेशको मृत्यु भएको बताए। पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते छन्।
निरन्तर वर्षा भइरहेकाले हराइरहेका वृद्धको खोजी कार्यमा समस्या भएको मेहेलेका स्थानीय कमल कडरियाले बताए। उनका अनुसार पहिरोमा गम्भीर घाइते राजकुमार राईलाई उपचारका लागि लैजान समेत समस्या भइरहेको छ।