बाढीपहिरोबाट ज्यान गुमाएकाहरूको परिवारलाई एक लाख दिइने
बाढीपहिरोका कारण ताप्लेजुङमा मानवीय क्षति हुनुका साथै विभिन्न संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। शनिबार रात गएको बाढीपहिरोले ताप्लेजुङको सिदिङ्वा–५ मेहेलेमा एक युवकको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्।
कोशी प्रदेशमा बाढी र पहिरोबाट ज्यान गुमाएकाहरू परिवारलाई तत्काल एक लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराइने भएको छ। आइतबार साँझ बसेको कोशी प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
आइतबार कोशी प्रदेश खानेपानी, सिंचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोले बाढीपहिरो प्रभावित केही जिल्लाको निरीक्षण गरेपछि प्रदेश सरकारको विपद् व्यवस्थापन समितिको बैठकले एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको मन्त्री मेन्याङ्बोको सचिवालयले जनाएको छ।
घाइतेको उपचार गर्ने, भौतिक संरचना (घर) पुनर्निर्माणका लागि सहयोग गर्ने, बगाएका, भत्किएका पुल यथाशीघ्र मर्मत र निर्माण गरी अवरुद्ध बाटो तथा राजमार्ग तत्काल खुलाउन पहल गर्ने निर्णय गरेको मन्त्री मेन्याङ्बो बताए।
५० घर उच्च जोखिममा
बाढीपहिरोका कारण ताप्लेजुङमा मानवीय क्षति हुनुका साथै विभिन्न संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। शनिबार रात गएको बाढीपहिरोले ताप्लेजुङको सिदिङ्वा–५ मेहेलेमा एक युवकको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्। बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ। पहिरोमा परी मैवाखोला गाउँपालिकामा एक जना घाइते छन्।
यसैगरी, जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरीजंघा गाउँपालिकामा सात घर, सिदिङ्वा गाउँपालिकामा २१ घर, मैवाखोला गाउँपालिकामा २१ र पाथीभरा याङवरक गाउँपालिका एक गरी ५० घरपरिवार उच्च जोखिममा छन्।
त्यस्तै, सिरीजंघामा एक, सिदिङ्वामा एक र मैवाखोलामा एक गरी तीन पक्की मोटरेबल पुल पूर्ण रूपमा क्षति भएको र पाँच झोलुङ्गे पुल पनि बाढीले बगाएको समितिले जनाएको छ।
विपत्कै कारण सिरीजंघामा चार, सिदिङ्वामा चार र पाथीभरा याङवरकमा एक गरी नौ घर पूर्ण रूपमा क्षति भएको समितिले जनाएको छ।
बाढीले पशुचौपायातर्फ सिरीजंघा, मैवाखोला र सिदिङ्वा गाउँपालिकामा पाँच गाई, दुई भैंसी र आठ बाख्रा बगाएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ।
त्यस्तै, सिदिङ्वामा एक र सिरीजंघामा एक गरी दुई विद्युत्गृहमा पूर्ण रूपमा क्षति पुगेको छ। समितिका अनुसार सिरीजंघा– ८ याम्फुदिनमा र वडा नं ७ खेवाङमा गरी सात सरकारी कार्यालयमा पूर्ण रूपमा क्षति पुगेको छ। सिरीजंघा–८ मा सञ्चालन रहेको एक क्रसर उद्योग र एक सामुदायिक विद्यालय समेत बाढीले बगाएको छ। एक कुखुरा फर्म पूर्ण रूपमा क्षति भएको समितिले जनाएको छ। -रासस