क्रोएशियालाई पेनाल्टी शूटआउटमा हराउँदै स्पेन बन्यो नेशन्स लिग विजेता
विश्वकप, यूरो कप र नेशन्स लिग तीन वटै प्रतियोगिताको उपाधि जित्ने स्पेन दोस्रो देश बनेको छ।
यूईएफए नेशन्स लिगको उपाधि स्पेनले जितेको छ। गएराति सम्पन्न खेलमा क्रोएशियालाई पेनाल्टी शूटआउटमा ५-४ गोल अन्तरले हराउँदै स्पेनले उपाधि हात पारेको हो।
निर्धारित ९० मिनेट र त्यसपछिको अतिरिक्त समयमा समेत दुवै टोलीले गोलरहित बराबरी खेलेपछि विजेताको टुङ्गो पेनाल्टी शूटआउटमा लगाइएको थियो।
क्रोएशियाका लागि निकोला भ्लासिच, मार्सेलो ब्रोजोभिच, लुका मोड्रिच र इभान पेरिसिचले गोल गरे। स्पेनका लागि भने जोसेलु, रोड्री, मिकेल मेरिनो, मार्को एसिन्सियो र ड्यानी कार्भाजलले गोल गरे।
यूरो कप २०१२ को उपाधि जितेयताकै यो स्पेनको पहिलो अन्तर्राष्ट्रिय ट्रफी पनि हो। यस्तै विश्वकप, यूरो कप र नेशन्स लिग तीन वटै उपाधि जित्ने पनि स्पेन फ्रान्सपछि दोस्रो देश बनेको छ।
यता, क्रोएशिया भने लगातार अन्तर्राष्ट्रिय उपाधि जित्ने अवसर पाएर पनि उपाधिविहीन छ। सन् २०१८ को विश्वकपको फाइनलमा क्रोएशिया फ्रान्ससँग पराजित भएको थियो भने २०२२ को संस्करणमा तेस्रो स्थानमा सीमित भएको थियो।
क्रोएशियाली कप्तान लुका मोड्रिचका लागि पनि नेशन्स लिगको फाइनल उपाधि जित्ने अन्तिम अवसर हुन सक्छ। एक पटक ‘बलोन डी ओर’ समेत जितेका ३७ वर्षीय मोड्रिचले यसै साता आफ्नो अन्तर्राष्ट्रिय करिअरबारे निर्णय लिने बीबीसीले उल्लेख गरेको छ। यद्यपि उनले जर्मनीमा हुने आगामी यूरो कपमा खेल्ने सम्भावना पनि छ।