घरजग्गा र शेयर बजारमा सुधारको सङ्केत
गत वर्षदेखि नै शिथिल घरजग्गा र शेयर बजारमा सुधारका सङ्केत देखापरेका छन्। वित्तीय प्रणालीमा रकम थुप्रँदै गएको र ब्याजदर घट्न थालेसँगै यी दुवै क्षेत्रमा सुधार देखिन थालेको हो।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत जेठमा घरजग्गा कारोबार अघिल्लो महीनाका तुलनामा झन्डै एकतिहाइले बढेको छ।
जेठमा देशभरि ५५ हजार ६९ वटा घरजग्गा किनबेचका अभिलेख दर्ता भएका छन्। यो वैशाखमा ४२ हजार ४६१ मात्रै थियो।
जेठमा भए जति घरजग्गाको कारोबार यस आर्थिक वर्षको कुनै महीनामा पनि भएको थिएन। २०६९ वैशाखपछि घरजग्गाको कारोबारमा ठूलो शिथिलता देखिंदै आएको थियो। झन्डै एक वर्षको शिथिलतापछि घरजग्गा कारोबारले लय समात्न खोजेको सङ्केत देखापरेको हो।
विभागका अनुसार जेठमा काठमाडौंका तीन जिल्लामा मात्रै चार हजार ७३५ वटा घरजग्गा किनबेच गरिएका छन्। वैशाखका तुलनामा यो २२ प्रतिशत धेरै हो।
वित्तीय प्रणालीमा रकम अभाव र ब्यांकको ब्याजदर वृद्धिका कारण गत वर्षको वैशाखदेखि नै घरजग्गाको किनबेचमा शिथिलता आएको थियो। सरदरमा हेर्दा यो वर्ष घरजग्गाको किनबेच गत वर्षभन्दा ४० प्रतिशतले घट्न पुगेको थियो। चालू आर्थिक वर्षको ११ महीनामा देशभरि चार लाख १८ हजार ८३७ वटा घरजग्गा कारोबार भएका छन्।
गत आर्थिक वर्षको ११ महीनामा ६ लाख ९८ हजार वटा घरजग्गा किनबेच भएका थिए। घरजग्गा व्यवसायीले घरजग्गाको माग नै वृद्धि नभएकाले यसलाई सुधार गर्ने नीति ल्याउन सरकारलाई अनुरोध गर्दै आएका छन्। व्यवसायीका अनुसार घरजग्गाको कारोबारमा देशैभरि असाधारण मन्दी आएको छ।
घरजग्गाको बजारमा देखिएको यस्तो मन्दी एक दशकयताको ठूलो हो। घरजग्गाको मूल्य अत्यधिक बढेपछि नेपाल राष्ट्र ब्यांकले मूल्यको अत्यधिक वृद्धिले वित्तीय प्रणालीमा नै जोखिम ल्याउने सङ्केत देखिएको भन्दै नियन्त्रणका लागि विभिन्न नीतिगत औजार प्रयोग गरेको थियो।
यद्यपि, जेठमा बढेको कारोबारले भने घरजग्गाको बजारमा फेरि वृद्धिको सङ्केत गरेको हो। जेठमा घरजग्गाको किनबेचसँगै राजस्व रकम र कित्ताकाट संख्या पनि बढेको छ। गत वैशाखमा सरकारले जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको थियो।
घरजग्गामा मात्रै होइन, शेयर बजारमा पनि पछिल्लो समय सुधारको सङ्केत देखापरेको छ। ब्यांकिङ प्रणालीको तरलता र ब्याजदर घटेका कारण लगानीकर्ता फेरि शेयर बजारमा सक्रिय हुन थालेको तथ्याङ्कले देखाएको छ। पछिल्ला दिनमा शेयर बजारमा दैनिक पाँच अर्बसम्मको शेयर किनबेच हुन थालेको छ।
जेठ ३१ मा शेयर बजारमा रु.पाँच अर्ब एक करोडको कारोबार भएको थियो। असार ३ मा पनि रु.चार अर्ब ८७ करोडको कारोबार भएको छ। यसले बजारमा लगानीकर्ताको सक्रियता बढेको पुष्टि गर्छ। जबकि, एक महीनाअघि शेयर बजारमा दैनिक कारोबार एक अर्बभन्दा थोरैको मात्र हुने गर्थ्यो।
कारोबार परिमाणमा वृद्धिसँगै शेयर बजार परिसूचक नेप्सेमा पनि सुधार आएको छ। असार ३ मा मात्रै नेप्से परिसूचक ५२ अङ्कले बढेर दुई हजार १०० नजिक पुगेको छ। पछिल्लो मन्दीमा घटेर आइपुगेको न्यूनतम बिन्दुका तुलनामा नेप्से झन्डै ३०० अङ्कले उकालो लागिसकेको छ।
तरलता र ब्याजदर सहज हुँदै गएपछि घरजग्गा र शेयर बजारमा विगतमा रौनक छाउने गरेको थियो। अहिले ब्यांक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) नै तीन खर्ब रुपैयाँ हाराहारीमा छ।
अर्कातिर, गत माघमा १३ प्रतिशतभन्दा माथि पुगेको ब्यांक तथा वित्तीय संस्थाको कर्जाको औसत अहिले घटिरहेको छ। असारमा सरकारी खर्च ह्वात्तै बढ्ने हुँदा यसले पनि बजारमा लगानीयोग्य रकम बढाउन सहयोग गर्छ। लगानीयोग्य रकम थपिंदै जाँदा ब्याजदर क्रमशः घट्दै जाने अनुमान छ।