किसानले काठमाडौंकै सडकमा फाले २५ हजार किलो गोलभेंडा
भाउ नपाएपछि किसानले काठमाडौंकै सडकमा २५ हजार किलोग्राम गोलभेंडा फालेका छन्।
कालिमाटी तरकारी तथा फलफूल बजारमा लगानी अनुसारको भाउ नपाएपछि आइतबार किसानले गोलभेंडा फालेका हुन्। तरकारी बजारले नेपालीभन्दा भारतीय गोलभेंडालाई प्राथमिकतामा राखेको उनीहरूको आरोप छ।
तरकारी बजारको दैनिक मूल्यसूची अनुसार असार ३ मा भारतीय ठूलो गोलभेंडा प्रतिकेजी ४० देखि ५० रुपैयाँमा कारोबार भएको छ। तर, टनेल सानो गोलभेंडा प्रतिकेजी ६ देखि १० रुपैयाँमा कारोबार भएको छ।
गोलभेंडा लगेर कालीमाटी बजार पुगेका किसानले प्रतिकिलो चार रुपैयाँमा पनि बिक्री नभएपछि सडकमा फाल्नुपरेको बताएका छन्। विरोधस्वरूप तरकारी बजारकै अगाडि गोलभेंडा फालेको उनीहरूको भनाइ छ।
यसअघि चितवनका किसानले पनि सडकमै तरकारी फालेका थिए। भारतबाट आयातीत तरकारीका कारण आफ्नो उत्पादनले मूल्य नपाएको उनीहरूको भनाइ थियो।