पश्चिमा जगत्ले सी नेतृत्वको चीनबारे साँच्चिकै के जान्दछ?
अधिनायकवादी शासन व्यवस्थामा नीतिगत निर्णय कसरी गरिन्छ भन्ने मेसो पाउने काम सधैं कठिन हुने गरेको छ। त्यसैले बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलले तत्कालीन सोभियत संघको नीति निर्माण प्रक्रियालाई ‘रहस्यको जञ्जालमा घेरिएको अर्को रहस्य’ भनेका थिए। उनी खासै गलत थिएनन्।
पश्चिमा पर्यवेक्षकहरूले सोभियत संघको नीतिलाई जोसेफ स्टालिन वा लियोनिड ब्रेजनेभ मातहत हुने ठान्थे। अनि सार्वजनिक रूपमा ती नेताले के भन्छन् र के गर्छन् भन्ने आधारमा अनुमान गर्थे। तर, ती राज्यभित्र के भइरहेछ भन्ने थाहा पाउन कठिन हुन्थ्यो।
एकातिर सूचनासम्मको पहुँच नै सीमित हुन्थ्यो भने त्यहाँ भइरहेको गतिविधि बाहिरी दुनियाँलाई थाहा दिनुपर्छ भन्ठान्ने भित्रियालाई पनि भयले बाँध्थ्यो। वेलाबखत जासूसी माध्यमबाट सूचना फुत्काउन सफल भए पनि तत्कालीन अमेरिकी नीति निर्माण तह अर्को पक्षले कस्तो नीति अङ्गीकार गरेको छ भन्ने बुझ्न नसकेर अलमलमा परिरहन्थ्यो।
चीनको हकमा पनि अहिले त्यस्तै परिस्थिति दोहोरिइरहेको छ। बेइजिङको नीति निर्माणबारे थाहा पाउने काम पछिल्लो ५० वर्षको तुलनामा अहिले कठिन भएको छ। त्यसको मुख्य कारण हो, माओत्सेतुङको शासनकाल यताको समयमा चिनियाँ कम्युनिस्ट पार्टी अहिले आएर थप अधिनायकवादी र साँघुरो भएको छ। शक्तिको नजिक हुनेहरू पनि त्रसित छन्। सूचनासम्मको पहुँचलाई सीमित गरिएको छ। शासनको उच्च तहमा रहेकाहरू पनि सबै सूचनामा पहुँच राख्दैनन्।
त्यसैले बाह्य पर्यवेक्षकहरूले केही दशक पहिला चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू विदेश नीतिका सम्बन्धमा कसरी निर्णयमा पुग्छन् भन्ने जति थाहा पाउँथे त्यही मात्रामा थाहा पाउँदैनन्। माओकालमा जस्तो त्रास र गोप्यताको अनुभव चिनियाँ जनताले अहिले नै गरिसकेका त छैनन्, तर उनीहरू त्यतैतिर लम्किरहेका छन्।
चिनियाँ निर्णय प्रक्रियाबारे केही हदसम्म भए पनि सही ठम्याउन सकिन्छ र के जान्न सकिंदैन भन्ने थाहा पाउनु नै विदेश नीति विश्लेषकहरूलाई ठूलो समस्या भएको छ। यस सम्बन्धमा आफ्नो ज्ञान निर्माण गर्न उनीहरूले विश्लेषणका क्रममा हुँदै आएका त्रुटिबाट मुक्त हुनुपर्छ। तीमध्ये दुई त्रुटि मुख्य छन्- ‘विगतप्रतिको निर्भरता’ र ‘दर्पण परिकल्पना’। विगतप्रतिको निर्भरता विश्लेषणको त्यो तरीका हो जसमा विगतका शैलीहरू केही न केही हदसम्म दोहोरिन्छन् भन्ने विश्वास गरिन्छ।
पछिल्लो चाहिं सबै सरकार र सबै राजनीतिक शक्तिले भिन्दाभिन्दै परिस्थिति भए पनि उसैगरी काम गर्छन् भन्ने विश्वास हो। केही अमेरिकी राष्ट्रपति संसारलाई हेर्ने चिनियाँ नेताहरूको दृष्टिकोणमा थोरै मात्र परिवर्तन आएको छ त्यसैले उनीहरू विगतकै जस्तै निर्णय गर्छन् भन्ठान्छन्। अरू अमेरिकी नेताहरू चाहिं चिनियाँ समकक्षीसँग आफ्नो देशका विपक्षी दलका सांसद वा विपक्षी दलका नेता वा जिद्दी व्यावसायिक साझेदारसँग जस्तै गरी सम्बन्ध राख्न खोज्छन्। यी दुवै शैली प्रायः असफलतामा टुङ्गिने गरेका छन्।
उद्देश्य सहितको शक्ति
राष्ट्रपति सी चिनफिङ मातहत चीनको विदेश नीति निर्माणबारे पश्चिमा जगत्का विश्लेषकहरू के जान्दछन् त ? उनीहरूलाई यत्ति थाहा छ, सबै ठूला देशमा जस्तै चीनमा पनि विदेश नीति घरेलु प्राथमिकताको प्रतिबिम्ब हो। आफ्नो शासनकालमा सी आफू बाहेक अरू सबैको शक्तिका आधारहरू नष्ट गर्न लागिपरेका छन्। उनी सत्तालाई चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा केन्द्रित गर्न चाहन्छन् र आफ्नो बाटोमा आउने पार्टी शाखाहरू, प्रान्तीय समूहहरू तथा व्यावसायिक शक्तिलाई पन्छाउन चाहन्छन्।
आफूभन्दा पूर्ववर्ती नेताहरू कमजोर भएको र तिनको कमजोरीका कारण देशभित्र उपद्रव र भ्रष्टाचार मौलाएको साथै अन्तर्राष्ट्रिय जगत्मा चीनले दह्रो खुट्टा टेक्न नसकेको निष्कर्ष उनले कार्यकालमा निकालेका थिए। आफ्नो शासनकालमा चीन विजयी युगमा प्रवेश गरेको, जसले गर्दा पश्चिमा जगत् सावधान भएको उनी ठान्छन्। पश्चिमा देशमध्ये पनि विपक्षी रहेको अमेरिका चीनको निरन्तर उदयलाई रोक्न लागिपर्ने उनको मान्यता छ।
अमेरिकाले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूलाई अमेरिकी शक्तिसँग त्रसित हुन र अमेरिकी नियतप्रति शङ्कालु हुने अनेकौं कारण सिर्जना गरेको छ। तर, यिनै कारणले मात्रै सी चिनफिङलाई आफ्नो देशलाई विकासपथमा हिंडाउने मामिलामा अधिनायकवादी बनाएको होइन। सीले सन् १९७० को दशकदेखि चीन हिंडेको बाटोको मूल्याङ्कन गरे र खासगरी शक्तिको आर्थिक, भौतिक, र संस्थागत वितरण मन पराएनन्। पक्कै पनि उनले चीनको उल्लखेनीय आर्थिक वृद्धिको निन्दा गरेनन्, तर त्यो वृद्धिले सीमित व्यक्तिलाई धनी बनाउनुको साटो धेरैको सेवा गर्नुपर्ने ठाने।
पछिल्लो दशकमा त्यस्तो उद्देश्य हासिल गर्न लागिपरे। पुनः केन्द्रीकरण, पार्टी शक्तिको एकत्रीकरण एवं अमेरिकासँगको टकरावबाट मात्र त्यो उद्देश्य भेट्टाउन सकिन्छ भन्ने उनी ठान्छन्। बेल्ट एन्ड रोड, चिनियाँ सपना, नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवाद जस्ता उनका प्रमुख पहलहरू यी उद्देश्य प्राप्तिका लागि सिर्जना गरिएका हुन्।
सीका उद्देश्यसँग चिनियाँ कम्युनिस्ट पार्टीका अन्य शीर्ष नेताको दृष्टिकोण कत्तिको मेल खान्छ भन्न गाह्रो छ। सन् २०१० दशकको शुरूसम्म भ्रष्टाचार र कमजोर शासनप्रति उनको चासोबारे कमै मात्र शङ्का गरिन्थ्यो। चीनका नवधनाढ्यहरूले चिनियाँ अधिकारी र सर्वसाधारणलाई गर्ने तिक्ततापूर्ण व्यवहारले असन्तुष्टि सिर्जना गरेको थियो। त्यसैले चिनियाँ जनताबीच सी चिनफिङ ‘ठूलाबा सी’ का रूपमा उदाएका थिए जसले भ्रष्टलाई दण्ड दिन्थे। उनको यो छवि कोभिड-१९ को महामारी नआउँदासम्म निकै लोकप्रिय थियो।
महामारीका समयमा राज्यको कडा रवैया भोगेपछि भने सीको नियतबारे कडा प्रश्न गरिन थाल्यो। तर, त्यति वेलासम्म निकै ढिला भइसकेको थियो। सीले पार्टीभित्र शक्ति एकत्रित गरिसकेका थिए र माओकालमा जस्तै समाजका हरेक पक्षसम्म पार्टी बलियो भइसकेको थियो। अहिले चीनमा जताततै जासूसी र दमन छाएको छ यद्यपि सन् १९५० र ६० का दशकमा जस्तो श्रम शिविर र आमहत्यामा नफर्किने विश्वास केही मानिसले गर्छन्। तर, हालको अवस्था सन् १९७६ मा माओको निधनपछि सीको उदयसम्मको उदार युगभन्दा धेरै फरक भइसकेको छ।
बेइजिङका नेता
चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहसँग बाहेक अरू कसैसँग छलफल नै नगरी सी चिनफिङले आफूले गरेको नीतिगत पुनर्मूल्याङ्कन र नयाँ उद्देश्य लागू गर्न सक्नुको एउटै कारण हो, चीनमा राजनीतिक बहुलताको पूर्ण अभाव र पार्टीभित्र लोकतन्त्रको अभाव। महासचिव भएकैले उनमा पार्टी संगठनको असीमित अधिकार हुनुको कारण भने लेनिन र स्टालिनबाट अङ्गीकार गरिएको ‘जनवादी केन्द्रीयता’ हो जसलाई माओले चिनियाँ कम्युनिस्ट पार्टीमा लागू गरेका थिए।
सिद्धान्ततः चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले तर यथार्थमा सी चिनफिङको कोटरीले कुनै निर्णय गरेपछि सबै तहका पार्टी सदस्यको एउटै कर्तव्य बाँकी रहन्छ- निर्देशन मान्नु र त्यसको कार्यान्वयन गर्नु। सन् १९९० को दशकमा र यो शताब्दीको शुरूको दशकसम्म चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू यो संरचनामा परिवर्तन ल्याउन जरुरी छैन भन्ने दाबी गर्थे।
पार्टी पंक्तिमा उदारवादी अभ्यासहरू बलियो भइसकेकाले संरचनागत परिवर्तन आवश्यक छैन भन्ने उनीहरू ठान्थे। त्यो शक्तिसम्पन्न महासचिवले कुनै पनि वेला आफ्ना सबै अधिकार प्रयोग गर्न सक्छ र पार्टीभित्र थोरै पनि उदार व्यवस्था रहन नदिन सक्छ भन्ने सम्भावनाबारे उनीहरू विचार गर्न पनि चाहँदैनथे। त्यस्तो थोरै मात्र परिकल्पना पनि थिएन। त्यही कल्पनाको अभावको एउटा परिणाम हो, सी शैलीको नीति निर्माण।
४० वर्षभन्दा बढी समयदेखि चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू पार्टी संरचनाको शक्तिलाई सरकारका संस्थाहरूबाट बाहिर निकाल्न चाहन्थे। कम्तीमा सिद्धान्ततः सरकारले चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य नभएका ९३ प्रतिशत जनता सहित सिङ्गो देशको प्रतिनिधित्व गर्छ भन्ठानिन्छ। तर, पार्टी सधैंभरि शक्तिको केन्द्रमा रहिआएको छ। राज्यसँग सर्वसाधारणले सम्बन्ध राख्ने तरीकामा गरिएको विविधीकरणले समता र सन्तुलनको महसूस गराएको थियो।
यसले पार्टीको वैधानिकता पनि बढाएको थियो।बाहिरी विश्वलाई चिनियाँ कम्युनिस्ट पार्टी बल प्रयोग गरेर सत्ता हत्याएको क्रान्तिकारी संगठन नभई शक्तिमा रहेको अन्य राजनीतिक दल समान रहेको देखाइन्थ्यो। चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू आफूलाई दलको नेताभन्दा बढी सरकारी अधिकारीका रूपमा प्रस्तुत गर्ने गर्थे। चिनियाँ कम्युनिस्ट पार्टीका सिद्धान्तकारहरूले सरकारमा पार्टीको भूमिका सीमित राख्नेबारे छलफल शुरू गरेका पनि थिए जस अन्तर्गत तल्लो तहमा राजनीतिक सहभागिताको प्रयोग र तल्लो तहको नेतृत्वका लागि चुनाव पनि पर्थे।
सी चिनफिङले यो सिङ्गो अभ्यास नै उल्टाए। अहिले पार्टीका संगठनहरू र चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले सरकारी संयन्त्रले भन्दा बढी प्राथमिकता पाएका छन्। आर्थिक नीति, योजना र सैन्य तथा रणनीतिक मामिलासँग सम्बन्धित आयोगहरूले पहिले चीनको केन्द्रीय सरकार (राज्य परिषद्, स्टेट काउन्सिल)को सेवा गर्ने गरेकोमा अहिले चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरोलाई सघाउँछन्। चीनको सबै सैन्य शक्तिलाई निर्देशन गर्ने ‘केन्द्रीय सैन्य आयोग’ को नेतृत्व सधैं पार्टीका सबैभन्दा वरिष्ठ नेताले गर्ने गर्थे।
अहिले त्यसलाई खुल्लमखुल्ला ‘चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय सैन्य आयोग’ भनिन्छ। कतै कतै बाह्य प्रयोगका लागि पुराना सरकारी शैलीका नाम कायमै छन्। उदाहरणका लागि सरकारी संस्था ‘चीनको साइबरस्पेश प्रशासन’ असलमा ‘चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय साइबरस्पेश मामिला आयोग’ हो। साथै, राज्य परिषद्का ताइवान र हङकङ कार्यालय पनि चिनियाँ कम्युनिस्ट पार्टीको सचिवालयको कार्यकक्ष जस्तै छन्।
पार्टी शक्तिलाई जोड दिने यो प्रवृत्ति राष्ट्रिय सुरक्षाका मामिलाहरूमा बढी देखिन्छ। चिनियाँ कम्युनिस्ट पार्टीको ‘केन्द्रीय राष्ट्रिय सुरक्षा आयोग’ (सेन्ट्रल न्याशनल सेक्युरिटी कमिशन, सीएनएससी) नै अहिले सबै विदेशी र सुरक्षा मामिलाबारे काम गर्ने प्रमुख संस्था हुन पुगेको छ जसले पोलिटब्यूरोलाई समेत प्रायजसो पूर्व निर्मित प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्छ। कतिपय अवस्थामा यो आयोगले पोलिटब्यूरो मार्फत नगई महासचिवको कार्यालय मार्फत सीधै सी चिनफिङ समक्ष नीतिहरू प्रस्ताव गर्छ।
अन्तर्राष्ट्रिय मामिलामा काम गरिरहेका अन्य केन्द्रीय पार्टी आयोगहरूले केही मात्रामा प्रभाव पार्ने गरे पनि दैनिक मामिलाहरूमा अहिले ती सबै यही सुरक्षा आयोग मातहत छन्। पूर्व विदेशमन्त्री एवं वर्तमान पोलिटब्यूरो सदस्य वाङ यीले नेतृत्व गरेको ‘केन्द्रीय वैदेशिक मामिला आयोग’ ले रणनीतिक तहमा विदेश नीतिमा काम गर्ने गरे पनि कार्यकारीहरूलाई समेत सुरक्षा आयोगले जसरी नियमित रूपमा भेट्दैन।
विदेश नीति तर्जुमामा विभिन्न सरकारी र पार्टीगत संस्थाहरूले सिर्जना गरेको जटिलताको प्रतिक्रियास्वरूप ‘केन्द्रीय राष्ट्रिय सुरक्षा आयोग’ लाई प्राथमिकता दिइएको हो। त्यसो त बेइजिङका भित्रियाहरूले अहिले पनि कागजमै सही १८/१९ वटा विभिन्न संस्थाहरूको नाम दिन्छन् जोसँग पोलिटब्यूरो समक्ष नीति प्रस्ताव गर्ने अख्तियार छ। तर, केही केन्द्रीकरण गर्नैपर्ने भए पनि यो केन्द्रीकरण भने सी शैलीको हो। यसको एउटै उद्देश्य छ, राष्ट्रिय सुरक्षाको मामिलासँग जोडिएका अरू सबै कर्मचारितन्त्रलाई एउटै आयोग अन्तर्गत ल्याउने जस मार्फत सीले शक्ति अभ्यास गर्न सकून्।
त्यसैले चीनको विदेश नीति तर्जुमाबारे जान्न सीएनएससीमा को को छन् भनेर जान्न आवश्यक हुन्छ। यो आयोगको सिङ्गो संरचना र यसका मुख्य कर्मचारीहरूबारे गोप्य राखिएको छ। तर, यसको एक झलक भने उपलब्ध छ। नि:सन्देह, आयोगको अध्यक्षता सी चिनफिङ स्वयंले गरेका छन्। प्रधानमन्त्री ली छ्याङ र ‘न्याशनल पिपल्स कंग्रेस’ (राष्ट्रिय जनसभा)का अध्यक्ष चाओ लजी यसका कार्यकारी अध्यक्ष हुन्।
बेइजिङस्थित स्रोतका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीका चौथो वरीयताका नेता ह्वाङ हुनिङ पनि यसका एक सदस्य हुन्। विदेश मामिला विज्ञका रूपमा काम गर्न शुरू गरेका हुनिङ सम्भवतः सी चिनफिङपछि सबैभन्दा प्रभावशाली उपस्थिति जनाउँछन्। सीएनएससीको स्थापनादेखि कार्यरत एवं सी चिनफिङका प्रमुख सहयोगी चाइ छीले आयोगको दैनिक काम सम्हाल्छन् र उनलाई लियो हाइजिङले सघाउँछन्।
हाइजिङ लियो शुछिङका छोरा हुन् जो एक कूटनीतिज्ञ र अनुसन्धान अधिकृत थिए जसले सन् १९९० को दशकमा सीएनएसीको पूववर्ती संस्था गठन गरेका थिए। चिनियाँ कम्युनिस्ट पार्टीको ‘इन्टरन्याशनल लियजन डिपार्टमेन्ट’ का प्रमुख लियो जिएनचाओ र उनका कार्यकारी गुअ येजाउ पनि प्रभावशाली सदस्य हुन् किनभने उनीहरूको विभागले आयोगका लागि कर्मचारी उपलब्ध गराउँछन्। त्यसैगरी पोलिटब्यूरो सदस्यहरू वाङ यी, चेन वेनछिङ र जनरल जाङ युसियाले पनि क्रमशः वरिष्ठ विदेश मामिलाविज्ञ, सुरक्षा तथा अनुसन्धानविज्ञ र सैन्य प्रमुखका रूपमा आयोगलाई सघाउँछन्।
यद्यपि उनीहरू आफ्नो क्षेत्रमा महत्त्वपूर्ण अधिकारीको मातहतमा पर्छन्। विदेशमन्त्री छिङ गाङ र रक्षामन्त्री ली साङ्फू सी चिनफिङका दुई कान हुन्। उनीहरूको पूर्ववर्तीहरू पदमा रहँदाभन्दा यी सीएनएससीमा निकै शक्तिशाली छन्। रोचक त, छिङको विज्ञता चीनको विदेश नीतिलाई विदेशमा कसरी प्रस्तुत गर्ने भन्नेमा छ भने ली पढाईका हिसाबले एरोस्पेश इन्जिनीयर हुन्। उनको काम स्पेश र साइबर मामिलासँग सम्बन्धित क्षेत्रमा हो।
सी चिनफिङको विश्व
सी चिनफिङले आफ्ना पूर्ववर्तीहरूको तुलनामा राष्ट्रिय सुरक्षालाई फराकिलो ढङ्गले लिने गरेका छन्। सीएनएससीमा आणविक सुरक्षा, साइबर सुरक्षा र बायो सुरक्षामा काम गर्ने कार्यदलहरू छन्। तर, ऊसँग आन्तरिक सुरक्षा र आतङ्कवादी खतराबारे नीति तय गर्ने उपसमूहहरू पनि छन्। यसले ध्यान दिइरहेका नयाँ क्षेत्रहरू ‘सैद्धान्तिक सुरक्षा’ र ‘पहिचान सुरक्षा’ हो। चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूको दृष्टिकोणमा विभिन्न देशमा अमेरिकाको उक्साहटमा भएका ‘रङ क्रान्तिहरू’ प्रति उनीहरूको त्रासलाई ‘सैद्धान्तिक सुरक्षा’ ले अभिव्यक्त गर्छ (रङ क्रान्ति, कलर रेभोलुसन- खासगरी सन् २००४ पछि विश्वव्यापी प्रयोगमा बढी आएको सत्ताविरोधी विभिन्न प्रदर्शनहरू)।
पहिचान सुरक्षाको दायरा भने फराकिलो छ। यस अन्तर्गत चिनियाँ कम्युनिस्ट पार्टीको देशभक्ति छवि कसरी निर्माण गर्ने भन्नेदेखि चिनियाँ कम्युनिस्ट पार्टीको आलोचना गर्नु भनेको आफ्नै देश र जनताको आलोचना गर्नु हो भन्ने बोध चिनियाँ जनतालाई गराउनेसम्म पर्छ। अर्को शब्दमा, राष्ट्रिय सुरक्षा भन्ने शब्दावली अन्तर्राष्ट्रिय मामिला जत्तिकै घरेलु मामिला पनि हो। साथै, सैन्य तयारी र नयाँ हतियारको निर्माण जत्तिकै चिनियाँ जनताको दिल र दिमागको विषय पनि हो।
पार्टीका अन्य नेतालाई नियन्त्रण गर्न भ्रष्टाचारविरोधी अभियान चलाए जसरी नै सी चिनफिङले ‘राष्ट्रिय सुरक्षा’ को विस्तारित स्वरूपलाई प्रयोग गर्छन्/गर्दैनन् भनिहाल्न गाह्रो छ। तर, उनले तङ स्याओपिङ र अरू सुधारकहरूले चीनलाई बलियो बनाउन पर्याप्त काम नगरेको र चिनियाँ हितको पक्षमा दह्रोसँग नउभिएको भनेर घुमाउरो आलोचना गर्ने गरेका छन्। अभूतपूर्व रूपमा महासचिवमा तेस्रो कार्यकालका लागि सी चिनफिङ निर्वाचित हुनुको स्पष्ट सन्देश छ। त्यो हो, उनले मात्रै चीन र चिनियाँ कम्युनिस्ट पार्टीमाथि आइलागेको खतराको सामना गर्न सक्छन्।
सर्वत्र खतरा महसूस गरेका चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले अभिमान र भयको अनौठो तालमेल मिलाएका छन्। भविष्य आफ्नै पक्षमा छ भन्ने विश्वास गरे पनि उनीहरू देशभित्रैको जासूसीसँग त्रसित छन्। यो द्विविधासँग सीको आक्रामक शैली मेल खान्छ। अहिले आएर उनी मात्रै चिनियाँ कम्युनिस्ट पार्टीको मात्र नभई बाहिरी विश्वलाई खतरनाक ठान्ने थुप्रै चिनियाँहरूको सुरक्षा सुनिश्चित गर्न सक्ने व्यक्ति भएका छन्। त्यसैले उनको लक्ष्य के हो भन्ने स्पष्टसँग नबुझे पनि बुझे जति पूरा गर्न थुप्रै अधिकारीले उनको शैली पछ्याइरहेछन्।
चिनियाँ राजनीतिमा शब्दहरूले धेरै अर्थ राख्छन्। माओपछि उनको देवत्वकरण जसरी भएको छ त्यसले उनको शक्ति मात्रै जनाउँदैन। बरु चिनियाँ कम्युनिस्ट पार्टी पनि कुन हदसम्म उनको नेतृत्वमा टाक्सिएको छ भन्ने बताउँछ। ‘सी चिनफिङको हैसियत पार्टीको केन्द्रीय समिति र सिङ्गो पार्टीको केन्द्रबिन्दु हो’ भनेर होस् वा ‘सी चिनफिङ विचारधाराको निर्देशक भूमिका’ भनेर चिनियाँ कम्युनिस्ट पार्टीले घोषणा गर्दा उसको आफ्नै अनिश्चितता र असुरक्षा देखिन्छ।
अहिले चिनियाँ कम्युनिस्ट पार्टीको शक्तिको अगाडि आर्थिक वृद्धि कम महत्त्वको विषय हुन पुगेको छ। उदाहरणका लागि, कम उत्पादन र न्यून नाफादायी भए पनि ठूला कम्पनीहरूकें नियन्त्रण आवश्यक हुन पुगेको छ। चीनका कतिपय ठूला उद्यमी माओपछिको सुधार काललाई सोभियत संघमा लागू गरिएको लेनिनको ‘नव आर्थिक नीति’ को समतुल्य रहेको ठूलो छलका रूपमा लिन्छन्। उनीहरूका निम्ति पार्टीले जफत गर्नैका लागि व्यवसायीलाइ सम्पत्ति कमाउने छूट दिएको हो। त्यसैले थुप्रै धनी चिनियाँहरू कम्तीमा अहिलेका लागि चीन छाड्न चाहन्छन्।
चीनको अजेय उदयको नेतृत्वको साटो कतै आफ्नै देशको अवनतिको नेतृत्व गर्न पुग्छु कि भन्ने डर सी चिनफिङमा हुनुपर्ने थियो। वास्तवमा कोभिड-१९ पछि सरकारले गरेको अनावश्यक र अकल्पनीय हस्तक्षेपका कारण चिनियाँ अर्थतन्त्रले खासै गतिलो प्रगति गर्न सकेको छैन। स्वदेशी र विदेशी लगानी दर घटिरहेछ। यही वेला चीनका मुख्य बजारहरू अस्ट्रेलिया, जापान, यूरोप र उत्तरी अमेरिकासँग कूटनीतिक द्वन्द्व उकास्न चिनियाँ कम्युनिस्ट पार्टी लागिपरेको छ र आधुनिक युगमा कहिल्यै नदेखिएको जनसंख्याको अवनति चीनले सामना गरिरहेछ। यस्तो वेला सी चिनफिङ त २१औं शताब्दीको स्टालिन वा माओ हुनुको साटो चीनको ब्रेजनेभ हुन पुग्छु कि भनेर चिन्तित हुनुपर्ने हो।
चीन बाहिरका पर्यवेक्षकहरूले केवल सीले अभिव्यक्त गरेका धारणाका आधारमा मात्र उनको चिन्तन प्रणाली बुझ्ने हुन्। धेरै कुरा त थाहै छैन। उदाहरणका लागि, अन्तर्राष्ट्रिय राजनीतिबारे आफूले गरेको आकलनबारे उनी कति विश्वस्त छन् भन्ने थाहा पाउनु असम्भव छ। विदेशीहरूलाई चीनको विदेश नीति तर्जुमामा सेना र जासूसी संयन्त्रको कति भूमिका छ भन्ने पनि थाहा छैन।
धेरै पश्चिमाहरू चिनियाँ कूटनीतिज्ञले देखाउने आक्रामक शैली चीनको नयाँ क्षमता र सीको नेतृत्वको उच्चता अभिव्यक्त गर्नुपर्ने बाध्यताका कारण हो भन्ने ठान्छन्। तर, यस्तो शैलीका लागि अति राष्ट्रवाद कत्तिको महत्त्वपूर्ण छ र चीनको निर्णय प्रक्रियामा त्यही नै अन्तिम कारक तत्त्व हो त भन्ने पनि थाहा छैन। साथै, अमेरिकाको नीति निर्माणका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष, ताइवान कब्जा वा पूर्वी एशिया र पश्चिम प्रशान्त क्षेत्रमा सैन्य प्रभुत्वको स्थापना जस्ता सी चिनफिङको स्पष्ट उद्देश्य ठानिएका लक्ष्यको समयरेखा के हो भन्ने पश्चिमा विश्लेषकहरूलाई थाहा छैन।
सीले बारम्बार माओका दुई भनाइ उल्लेख गर्ने गर्छन् र ती दुवै रेडबूकमा पाइन्छ (रेडबूक- विभिन्न विषयमा माओका उक्तिहरूको सङ्कलन गरिएको सानो हाते पुस्तिका; सांस्कृतिक क्रान्ति ताका निकै चर्चित यो पुस्तिका नेपाली सहित विश्वका विभिन्न भाषामा अनूदित छ।) पहिलो हो, ‘शत्रुको शक्तिलाई बढी आँक्ने र जनताको शक्तिलाई कम आँक्ने सबै दृष्टिकोण गलत छन्।’ दोस्रो हो, ‘विश्वमा अहिले दुई थरी वायु छन्, पूर्वी वायु र पश्चिमी वायु।’
सन् १९५७ मा माओले मस्कोमा भनेका थिए, ‘कि पश्चिमी वायुमाथि पूर्वी वायु हावी हुन्छ कि पूर्वी वायुमाथि पश्चिमी। आजको अवस्था यस्तो छ। मलाई विश्वास छ, अन्ततः पश्चिमी वायुमाथि पूर्वी वायु हावी हुनेछ।’ (माओले पूँजीवादी व्यवस्थालाई पश्चिमी वायु र समाजवादी व्यवस्थालाई पूर्वी वायु बिम्बले सङ्केत गरेका थिए।) माओका ती विचारमा सी सहमत भएको देखिन्छ। तर, वायु साँच्चै कताबाट कता बहिरहेछ भन्ने बताउन उनलाई ठूलो संख्यामा मौसमविद्हरू चाहिन्छन्।
(येल विश्वविद्यालयमा इतिहास र विश्व मामिलाका प्राध्यापक वेस्टाड द कोल्ड वारः अ वर्ल्ड हिस्ट्रीका लेखक हुन्। फरेन अफेयर्समा १३ जून २०२३ मा प्रकाशित यो लेखको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।)