प्रदेशको बजेट पास गर्न लायक नरहेको एमालेको ठहर
नेकपा (एमाले)ले कोशी बाहेकका प्रदेश सरकारले ल्याएको बजेट पास गर्न लायक नरहेको ठहर गरेको छ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटलाई लिएर एमालेले आइतबार सातै प्रदेशका सांसदसँग भर्चुअल बैठक गरेको थियो। बैठकमा सातै प्रदेशका संसदीय दलका नेताले प्रदेशको बजेटबारे प्रस्तुति राखेका थिए।
सातै प्रदेशका संसदीय दलका नेताको प्रस्तुति सुनेपछि एमाले अध्यक्ष ओलीले कोशी बाहेक सबै प्रदेशको बजेट पास गर्न लायक नभएको बताए। “सातै प्रदेशको प्रस्तुति सुन्दा कोशी प्रदेश बाहेक बजेट यथास्थितिमा पास गर्न लायक नरहेको देखिन्छ।”
कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार छ। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेश मार्फत बजेट ल्याएका हुन्।
एमाले अध्यक्ष ओलीले बजेट सच्याउन पहल गर्नुपर्ने बताए। “बजेट विनियोजन पैत्रिक सम्पत्ति जस्तो गरी मुख्यमन्त्री, अर्थमन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गरेर बजेट दुरुपयोग गर्नु आपत्तिजनक छ,” ओलीले बैठकमा भने, “बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्नेगरी सशक्त विरोध गर्नुपर्छ।”
कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको प्रदर्शनप्रति पनि असन्तुष्टि जनाए। प्रदेश सभाका दुई तिहाइ सांसदले विधिवत् ढङ्गले निर्णय गरेको कोशी नामकरणलाई लिएर झमेला निकाल्न खोजिएको उनको भनाइ थियो। संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर नाम परिवर्तन गर्न नहुने ओलीले बताए।
भर्चुअल बैठकमा कोशीका मुख्यमन्त्री कार्कीले बजेटबारे जानकारी दिएको एमाले केन्द्रीय प्रचार तथा प्रशासन विभाग प्रमुख गगन विष्टले बताए।
त्यस्तै, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल, कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल, लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी, गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपाली, बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया र मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवले आफ्नो धारणा राखेका थिए।