कुशलको उत्कृष्ट प्रदर्शनमा नेपालले बनायो २९० रन
आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको छ।
जिम्बावेको हरारे रङ्गशालामा पहिले ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा २९० बनाएको हो। नेपालका लागि प्रारम्भिक ब्याटर कुशल भुर्तेल र आसिफ शेखले १६७ रनको कीर्तिमानी साझेदारी गरे।
नेपालका लागि कुशलले ९९ रन बनाए। उनले ९५ बलमा १३ चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, आसिफले ६६ रन बनाए। उलने १०० बलमा सात चौका प्रहार गरे।
त्यसपछि कुशल मल्ल र रोहित पौडेलले नेपालको पारी सम्हालेका थिए। कुशलले ४१ रन बनाए भने रोहितले ३१ रन बनाए। कुशलले ४२ बलमा दुई चौका र तीन छक्का प्रहार गरे भने रोहितले २९ बलमा पाँच चौका प्रहार गरे।
यस्तै, आरिफ शेखले १०, गुल्सन झाले १३, दीपेन्द्रसिंह ऐरीले ६ र करण केसीले दुई रन बनाए।
जिम्बावेका लागि रिचार्ड गरवाले चार, विलियम्सन मसकजाले दुई, तेन्दाई चटरा र ब्लेसिङ मुजरबानीले एक–एक विकेट लिए।