लोडसेडिङबारे कुलमान घिसिङले भने–समस्या प्रसारण र वितरण प्रणालीको हो
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रसारण र वितरण प्रणालीको सीमितताका कारण नियमित बिजुली दिन नसकेको बताएका छन्।
घिसिङले आइतबार पत्रकार सम्मेलन गरेर तराईका जिल्लाहरूमा विद्युत्को माग उल्लेख्य बढ्दा प्राधिकरणको प्रणालीले धान्न नसकेको बताए। प्रसारण र वितरण प्रणालीका पूर्वाधारहरू पर्याप्त नभएकाले गुणस्तरीय विद्युत् आपूर्तिमा अवरोध भइरहेको उनको तर्क छ।
देशका विभिन्न भागमा विना सूचना पटक पटक बिजुली अवरुद्ध हुने समस्याप्रति विद्युत् प्राधिकरणको आलोचना भइरहेको छ। घिसिङले गर्मीका कारण प्रणालीमा चाप परेकाले गुणस्तरीय बिजुली आपूर्तिमा समस्या भइरहेको बताए।
घिसिङले प्रसारण र वितरण लाइन निर्माणमा ठूलो लगानी आवश्यक भएको बताए। प्रसारण र वितरणमा अर्बौं लगानी हुन नसके भविष्यमा पनि गुणस्तरीय विद्युत् उपलब्ध नहुने उनको तर्क छ। उनले भने, “प्रसारण लाइनको अभावमा कतिपय ठाउँको विद्युत् खेर फाल्नुपर्ने अवस्था छ।”
राज्यका अन्य निकायले सहयोग नगरे बिजुली आपूर्तिमा समस्या समाधान नहुने उनले बताए। उनले विद्युत्को प्रसारण र वितरण प्रणालीमा सुधार नभए यो क्षेत्रमा गरिएको लगानी समेत जोखिममा पर्ने बताए।
घिसिङ आफैं पछिल्लो ६ वर्षदेखि प्राधिकरणको नेतृत्वमा छन्। विद्युत् प्रणालीमा अपेक्षित सुधार नहुँदा घिसिङको नेतृत्वमाथि प्रश्न उठिरहेको छ।
कार्यकारी निर्देशक घिसिङले भारतमा बिजुली बिक्री गरेर नेपालमा लोडसेडिङ गरिएको भन्ने आरोपको प्रतिवाद पनि गरे। प्राधिकरणले आवश्यकताका आधारमा बढी भएका वेला भारततर्फ बिजुली निर्यात गरेको र नेपालभित्र आवश्यक परेका वेला आयात गर्ने गरेको बताए। उनले हरेक मिनेट विद्युत्को माग र आपूर्ति फरक पर्ने हुँदा भारततिर निर्यात गर्नै हुँदैन भन्ने तर्क गलत भएको पनि बताए। उनले आन्तरिक उपयोग बढाउन विभिन्न पहल गरिएको पनि बताए।