सिकलसेल एनिमिया परीक्षण गराउन घुइँचो
सिकलसेल एनिमियाको निःशुल्क परीक्षण शिविरमा सर्वसाधारणको घुइँचो लागेको छ।
दाङको घोराही उपमहानगरपालिका-१० स्थित नारायणपुर स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्थानीय बासिन्दाको घुइँचो लागेको हो। ग्रामीण महिला उत्थान केन्द्रले सिकलसेल एनिमिया निःशुल्क परीक्षण शिविर आयोजना गरेपछि टाढा टाढाबाट पनि सर्वसाधारण आएका हुन्।
सिकलसेल एनिमियाको निःशुल्क परीक्षण शिविर भइरहेको खबर पाएपछि रगत स्क्रीनिङ गराउन आएको एक स्थानीयले बताइन्। “थारू समुदायलाई मात्र यो रोग लाग्छ भन्ने सुनेकी छु,” उनले भनिन्, “मलाई पनि सिकलसेल एनिमिया त छैन, त्यसको पहिचान गराउन आएकी हुँ।”
उनले दुई घण्टा लाइनमा बसेर रगत परीक्षण गराइन्। आफूलाई कुनै समस्या नभए पनि वंशजबाट सर्ने भएकाले परीक्षण गर्न आएको उनको भनाइ थियो।
सिकलसेल एनिमिया तराईका जिल्लामा बसोबास गर्ने थारू समुदायमा धेरै देखिएको छ। कतिपयले परीक्षण गर्न नसकेकाले निःशुल्क शिविर आयोजना गरिएको ग्रामीण महिला उत्थान केन्द्रकी संस्थापक अध्यक्ष आसमानी चौधरीले बताइन्।
उनका अनुसार शिविरमा ४१२ जनाले रगत स्क्रीनिङ गराएका छन्। सोचेभन्दा धेरै स्थानीय बासिन्दा शिविरमा आएको उनले बताइन्। शिविरबाट एनिमियाको पहिचान भएका नागरिकलाई मनोसामाजिक परार्मश सहित उपचारमा सहयोग गर्ने उनले बताइन्।
४१ जनामा सिकलसेल एनिमिया
एकदिने सिकलसेल एनिमिया निःशुल्क परीक्षण शिविरमा सहभागी ४१२ जनामध्ये ४१ जनामा पोजेटिभ देखिएको छ। रगत स्क्रीनिङ गराएकामध्ये १० प्रतिशतमा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बरबहादुर कुँवरले बताए।
उनका अनुसार पोजेटिभ देखिनेमा महिला धेरै छन्। ३७ जना महिला र चार जना पुरुषमा सिकलसेल एनिमिया पोजिटिभ देखिएको उनले बताए।
गत वर्ष दाङका विभिन्न स्थानीय तहमा दुई हजार ८०२ जनाको रगत परीक्षण गर्दा ३२८ जनालाई सिकलसेल एनिमिया पुष्टि भएको थियो। यस वर्ष पनि बबई, घोराही, शान्तिनगर र देउखुरीमा परीक्षण गर्ने तयारी भइरहेको कुँवरले बताए।
मशिन र जनशक्ति अभावले सिकलसेल एनिमिया परीक्षण गर्न ढिलाइ भएको उनको भनाइ छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मात्र मशिन छ। त्यसमा पनि जनशक्तिको अभाव छ। सिकलसेल एनिमियाको जाँच गर्न घोराही र लमहीमा मशिन आवश्यक रहेको उनले बताए।
के हो सिकलसेल एनिमिया?
चिकित्सकहरूका अनुसार रातो गोलाकार रक्तकोषिकाको स्वरूप परिवर्तन भई हँसिया जस्तै आकारमा रूपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकलसेल एनिमिया भनिन्छ। यो वंशानुगत रोग हो।
यो रोग लागेका बिरामीको रक्तकोष हँसिया आकारको हुने भएकाले यसलाई हँसिया रोग पनि भन्ने गरिन्छ। यो रोगको जतिसक्दो छिटो उपचार गर्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख कुँवरले बताए।