पाँच पार्टीको समाजवादी मोर्चा बनाउने सहमति
पाँच पार्टीबीच समाजवादी मोर्चा बनाउने सहमति जुटेको छ भने सोमबार मोर्चाको घोषणा गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरूको बैठकले समाजवादी मोर्चा बनाउने सहमति गरेको हो।
बैठकमा सोमबार राष्ट्रिय सभागृहमा एक कार्यक्रम गरी मोर्चा घोषणा गर्ने सहमति बनेको छ। समाजवादी मोर्चा र त्यसको न्यूनतम कार्यक्रमबारे आवश्यक सहमति भएको बैठकमा सहभागी जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए।
समाजवादी मोर्चा बनाउने प्रयास धेरै पहिलेदेखि भए पनि औपचारिकता भने पाउन सकेको थिएन। आजको बैठकमा सबै दलका शीर्ष नेताको उपस्थिति थियो।
बैठकले मोर्चाको न्यूनतम कार्यक्रम समेत तय गरेको श्रेष्ठले बताए। “न्यूनतम कार्यक्रममा सहमति जुटेको छ। सोमबार नै घोषणा गर्छौं,” श्रेष्ठले भने।