भारतको उत्तर प्रदेशमा चर्को गर्मीका कारण ३४ जनाको मृत्यु
४२.२ डिग्री सेल्सियस तापक्रम पुगेपछि भारतको बलिया जिल्लामा ३४ जनाको मृत्यु भएको छ।
भारतको उत्तर प्रदेशमा अत्यधिक गर्मीका कारण दुई दिनभित्र ३४ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजीराका अनुसार मृतक ३४ जना सबै ६० वर्षमाथिका हुन्।
मृतकहरूमा पहिल्यैदेखि स्वास्थ्य समस्या रहेको र चर्को गर्मीले त्यसलाई थप जटिल बनाएको थियो। घटनापछि चिकित्सकहरूले ६० वर्षमाथिका व्यक्तिलाई घरभित्रै बस्न पनि सल्लाह दिएका छन्।
घटना उत्तर प्रदेशको राजधानी लखनउबाट ३०० किलोमिटर दक्षिण-पूर्वमा अवस्थित बलिया जिल्लाको हो। बलियाका चीफ मेडिकल अफिसर जयन्त कुमारका अनुसार बिहीबार २३ र शुक्रबार ११ जनाको मृत्यु भएको हो। “सबै व्यक्ति कुनै न कुनै रोगबाट पीडित थिए। अत्यधिक गर्मीले उनीहरूको अवस्था झन् बिग्रियो,” कुमारले एशोसिएटेड प्रेसलाई भने।
उनका अनुसार अधिकांश मृत्यु हृदयाघात, ब्रेन स्ट्रोक्स र पखालाका कारण भएको हो।
भारतको मौसम विज्ञान विभागका अनुसार शुक्रबार बलियाको अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस पुगेको थियो। अरू वेलाभन्दा यो ४.७ डिग्रीमाथि हो।
चर्को गर्मीकै कारण राज्यभर विद्युत् अवरुद्ध पनि भएको छ। धेरैले विद्युत् अवरुद्ध भएकामा विरोध प्रदर्शन गरेपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सरकारले विद्युत् आपूर्ति नियमित बनाउन आवश्यक कदम चालेको भन्दै जनतालाई आश्वस्त पनि पारेका छन्। उनले जनतालाई सरकारलाई सहयोग गर्न र विवेकपूर्ण तरीकाले विद्युत् खपत गर्न पनि आग्रह गरेका छन्।
“यस्तो चर्को गर्मीमा हरेक गाउँ र हरेक शहरले पर्याप्त बिजुली पाउनुपर्छ। केही त्रुटि भएमा, तत्कालै त्यसलाई सम्बोधन गरिनुपर्छ,” मुख्यमन्त्री आदित्यनाथले शुक्रबार एक विज्ञप्ति मार्फत भने।