मधेशका पाँच संसदीय समितिका सभापति चयन
मधेश प्रदेश सभाका पाँच वटा विषयगत समितिका सभापति चयन भएका छन्।
गत फागुन ३ गते गठन भएका सात वटा समितिमध्ये पाँच वटा समितिले पूर्णता पाएका हुन्। सभामुख रामचन्द्र मण्डलले समितिको सभापति चयनका लागि उम्मेदवारी दर्ता गर्न शनिबारको समय दिएका थिए। पाँच वटा समितिमा एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन्।
विकास समितिमा जनता समाजवादी पार्टीका शारदा शंकरप्रसाद कलवार, अर्थ तथा योजना समितिमा जनमत पार्टीका सतीशकुमार सिंह, प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा (माओवादी केन्द्र)की शारदा दास पहाडी, सार्वजनिक लेखा समितिमा नेकपा (एमाले)की मञ्जुकुमारी थापा मगर र महिला बालबालिका तथा सामाजिक न्याय समितिको सभापतिमा लोकतान्त्रिक समाजवादी पार्टीकी रूपाकुमारी यादव सभापति चयन भएका हुन्।
दलीय भागबन्डाका आधारमा सभापति निर्विरोध भएका छन्। पाँचै जनाले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
कृषि तथा भूमि व्यवस्थापन समिति र प्रदेश मामिला समितिको सभापतिको टुङ्गो लाग्न बाँकी छ। दुवै समितिमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का सांसद सभापति बन्ने तय भएको छ।