बाढीले बगाउँदा संखुवासभामा एकको मृत्यु, १५ सम्पर्कविहीन
संखुवासभाको हेवा खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ भने १५ जना सम्पर्कविहीन छन्।
चैनपुर नगरपालिका र पाँचखपन नगरपालिकाको बीचमा रहेको हेवा खोलामा गएराति आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए। उनका अनुसार बाढीले बगाउँदा १५ जना सम्पर्कविहीन छन् भने तीन जना घाइते छन्।
उनीहरू सबै सुपर हेवा खोला जलविद्युत् आयोजनाको काममा संलग्न कामदार हुन्। चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा पहिरोले खोला थुनिएपछि झरेको बाढीले सुपर हेवा खोला जलविद्युत् आयोजनाको काम गर्न बसेका कामदारका डेरा तथा टहरा बगाएको हो।
बाढीले दुई मोटरेबल पुल र दुई झोलुङ्गे पुलमा क्षति पुगेको छ। यस्तै, सर्वसाधारणका ११ वटा घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए।
बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ। हराइरहेका कामदारको खोजी भइरहेको कार्कीले बताए।