पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता, मेची राजमार्ग पनि अवरुद्ध
बाढीले फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवा खोला पुल बगाउँदा राजमार्ग अवरुद्ध भएको हो।
गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाएर पाँचथरमा पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवा खोलाका एक जना छन्।
फालेलुङ-३ खोलाघारी सेपीमा पहिरोले पुरिएका एक बालिकाको भने सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए।
बाढीकै कारण मेची राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए। पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवा खोला पुल बगाउँदा राजमार्ग अवरुद्ध भएको हो।
यस्तै, तमोर करिडोरको ‘बेलिब्रिज’ पनि बगाएको छ। याङ्वरक गाउँपालिका वडा नं. २ र ३ मा पनि घर बगाएको स्थानीयले बताएका छन्। यस्तै फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। -रासस