पहिरोले घर बगाउँदा ताप्लेजुङमा एकै परिवारका तीन जना बेपत्ता
अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरिजंघा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन्।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन्। स्थानीय कमल कडरियाका अनुसार पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन्।
साब्लाँखु प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख वन्दना कडरियाले जानकारी दिइन्।
यस्तै, मेहेलेकै भरत तामाङ समेत बेपत्ता छन्। खोला छेउमा घर भएका तामाङ भीषण वर्षा भएपछि बुबाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किंदै थिए। सोही क्रममा उनी बेपत्ता भएको बताइएको छ।
मेहेलेकै राजकुमार गौतमको घर पनि बगेको छ। अर्को एउटा घर जोखिममा छ। यस्तै, देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पूर्ण रूपमा पहिरोले बगाएको छ।
अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरिजंघा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन्। बाढी र पहिरोले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोप सहितका ठाउँमा विद्युत् समेत ठप्प छ।
मेची राजमार्ग र तमोर करिडोरका विभिन्न क्षेत्रमा बाढीपहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध छन्। थप क्षति सहित यकीन विवरण आउन बाँकी छ। -रासस