७० वर्ष उमेर हद दुनियाँमा कहीं पनि छैन: ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कतिपय नेताले राजनीति छोड्नुपर्ने स्थिति आएकाले ७० वर्ष उमेर हद हटाइएको बताएका छन्।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सबैलाई सहज बनाउन उमेर हद हटाइएको जिकिर गरे।
“थुप्रै साथीहरू यो ७० वर्ष छ भनेपछि हच्किएका हुन्छन्। ७० वर्ष पुगेपछि कामै गर्न नपाउने भए। राजनीति नै छोड्नुपर्ने स्थिति, कमिटी नै छोड्नुपर्ने स्थिति भएपछि यो ७० वर्ष अप्ठ्यारो भयो,” अध्यक्ष ओलीले भने, “कतिपय साथीहरूलाई आउन, उहाँहरूलाई ‘एडजस्ट’ गर्न, उहाँहरूलाई जिम्मेवारी दिन पनि ७० वर्ष हटाइदिन पर्यो।”
केही दिनअघि बसेको एमाले केन्द्रीय सचिवालय बैठकले ७० वर्षे उमेर हद हटाउने निर्णय गरेको थियो। यसअघि उमेर हद लागू गरिएपछि एमालेका केही नेताले सक्रिय राजनीति छोडेका थिए।
यस विषयमा प्रश्न गर्न थालिएपछि अध्यक्ष ओलीले प्रस्टीकरण दिएका हुन्। उनले राजनीतिमा उमेर हद नहुने जिकिर गरे। “७० वर्ष उमेर हद दुनियाँमा कहीं पनि छैन। अमेरिकामा ८० वर्षको मान्छेले राष्ट्रपति चलाइराखेको छ। अनि, शेरबहादुर देउवाजी ७७-७८ कति वर्ष हो। चलाई राख्नुभएको छ। कतै पनि छैन ७० वर्षको उमेर हद,” ओलीले थपे, “हाम्रोमा हामीले राखेका थियौं, हामीलाई पनि उपयुक्त भएन। यसले प्रगति गर्न अप्ठ्यारो पार्यो। त्यसकारण हटाउने भन्यौं।”
एमालेभित्र केही नेताले उमेर हद किन हटाएको भन्ने गरेको विषयमा उनले असन्तुष्टि जनाए। उनले आफ्नो नेतालाई आगामी महाधिवेशन चुनाव लड्न आग्रह गरे। “यसमा फेरि हाम्रा साथीहरू किन यो ७० हटाउने भन्छन्, कुरा भएन के!” उनले भने, “ए बाबा, चुनाव लड्नुस् न आउँदो महाधिवेशनमा। हुनुस् न अध्यक्ष, कसलाई मन लाग्छ।”
उमेर हद हटाउँदा सबैलाई राम्रो भएको उनको तर्क थियो। अब ७० वर्ष नाघेकाले पनि चुनाव लड्न पाउने भएकाले प्रतिस्पर्धा हुने ओलीको भनाइ थियो।