ज्यानै जान सक्ने मंकीपक्स रोगबाट कसरी जोगिने?
नेपालमा पहिलो पटक मंकीपक्स भाइरसको संक्रमण देखिएपछि जनस्वास्थ्यविद्ले सतर्कता अपनाउन आग्रह गरेका छन्।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक विदेशी नागरिकमा मंकीपक्स भाइरस (एमपक्स)को संक्रमण देखिएको हो। संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनी मंकीपक्स भाइरस ज्वरो आएको वेला बढी संक्रमण हुने बताउँछन्। डा. मरासनीका अनुसार संक्रमितको सम्पर्कमा आएका सबै आइसोलेशनमा बस्नुपर्छ।
यसको संक्रमणबाट ज्यानै जाने खतरा पनि हुन्छ। “मंकीपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्छ,” डा. मरासिनी भन्छन्, “नेपालमा अहिले नै आत्तिइहाल्नुपर्ने अवस्था भने छैन।”
कस्ता हुन्छन् लक्षण?
एमपक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ–खटिरा–बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, र्यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष सम्पर्कबाट, संक्रमित बाँदर, मुसा, लोखर्के लगायत जनावरबाट, भाइरस रहेको ओछ्यान र लुगाबाट सर्ने महाशाखाका निर्देशक डा. मरासिनीले बताउँछन्।
उनका अनुसार भाइरसले ज्वरो आउने, सामान्यतया ज्वरो शुरू भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थिहरू बढ्ने तथा आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्छ।
कसरी रोकथाम गर्ने?
मंकीपक्स भाइरसको रोकथामका लागि शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेशनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने महाशाखाका निर्देशक डा. मरासिनी बताउँछन्।
यसको संक्रमणबाट बच्ने उपायबारे जानकारी दिंदै डा. मरासनी भन्छन्, “घाउसँग प्रत्यक्ष सम्पर्क हुन सक्ने जोखिम भए पन्जा लगाउने, साबुनपानीले नियमित हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने, संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाकुँडा तातो पानी, साबुन वा डिटर्जेन्टले धुने, मंकीपक्सको संक्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा जानु हुँदैन।”
संक्रमितको सम्पर्कमा आएको व्यक्तिले परीक्षण गर्ने, संक्रमितको सम्पर्कमा आएको सतह, स्थान वा कोठा डिटर्जेन्टले निःसंक्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने, फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने लगायत कार्य गर्नुपर्ने उनको भनाइ छ।
सन् १९८० मा बिफरको उन्मूलन र विश्वव्यापी बिफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिमी अफ्रिकामा निरन्तर देखापरिरहेको छ।
१४ अस्पतालमा फोकल पर्सन
मन्त्रालयले मंकीपक्स रोगको उपचारका लागि १४ अस्पतालमा फोकल पर्सन तोकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी बताउँछन्।
मेची अस्पतालमा डा. केशव दाहाल, कोशी अस्पतालमा डा. सीबी झा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूचना मरहठ्ठा, जनकपुर अस्पतालमा डा. रामज्ञान यादव, वीरगन्ज अस्पतालमा डा. अतुलेशकुमार चौरासिया, गण्डकी अस्पतालमा डा. आनन्द नेपाल, भरतपुर अस्पतालमा डा. शशी हिराचन, वीर अस्पतालमा डा. निरज पराजुली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा. सर्वेन्द्र झालाई फोकल पर्सन तोकिएको छ।
त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मोनिका काफ्ले, लुम्बिनी प्रादेशिक अस्पतालमा डा. मणिलाल श्रेष्ठ, भेरी अस्पतालमा डा. बद्री चापागाईं, सुर्खेत अस्पतालमा डा. सुस्मिता प्रधान र सेती अस्पतालमा डा. दिनेश शिवाकोटीलाई फोकल पर्सन तोकिएको मन्त्रालयले जनाएको छ। (रासस)