‘लिभिङ टुगेदर’ चलेकै थियो, किन चाहियो समाजवादी मोर्चा: ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चा आवश्यक नभएको टिप्पणी गरेका छन्।
एमालेमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले समाजवादी मोर्चाको औचित्य नभएको बताएका हुन्। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच समाजवादी मोर्चा बनाउने तयारी चलिरहेको छ।
यसैलाई लिएर एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसलाई तर्साउन मोर्चाको कुरा आएको बताए। “गठबन्धन मात्रै नपुगेर अहिले समाजवादी मोर्चा बनाउने अरे! समाजवादी मोर्चा किन बनाउने भन्दा यसका दुई कारण छन्,” ओलीले भने, “एक, एमालेसँग मुकाबला गर्ने र अर्को, कांग्रेसलाई तर्साउने।”
कांग्रेसलाई समाजवादी मोर्चा बनाऊँ भनेर तर्साउन यस्तो गरिन लागेको उनको भनाइ थियो। ओलीले प्रश्न गरे, “तर्साउनका लागि मात्रै गठन हुने मोर्चा बनाएर के हुन्छ?”
समाजवादी मोर्चा बनाएर केही नहुने उनको जिकिर थियो। “त्यो बनाएर हुन्छ के? किन बनाउने त्यो? तिनै चिनेका मान्छे हुन्, सँगै हिंडेका छन्। ‘लिभिङ टुगेदर’ त चलेकै थियो त!” एमाले अध्यक्ष ओलीले भने, “अनि मोर्चा के चाहियो? हामीले उनीहरूका मोर्चासोर्चा के बनाउँछन्, खास वास्ता राख्नुपर्नेछैन।”
समाजवादी मोर्चाको कुरा गर्ने नेताहरूले आफूसँगै लामो समय काम गरेकाले को कस्ता छन् भन्ने थाहा भएको बताए। सबै चिनेकै नेता भएकाले नयाँ कुरा केही नहुने उनको भनाइ थियो।