याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउँछौं: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीसँगै याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने प्रतिबद्धता जनाएका छन्।
मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ अम्बाथानस्थित मुहान क्षेत्रमा पुगेका प्रधानमन्त्री दाहालले स्थानीय बासिन्दासँग थप पानी ल्याउने प्रतिबद्धता जनाएका हुन्। “याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने विषयमा गृहकार्य गर्छु,” दाहालले भने, “त्यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाउनेछु।”
यसका लागि तत्कालै पहल गर्ने उनको भनाइ थियो। “आयोजना उद्घाटनका क्रममा आउने इच्छा थियो, त्यति वेला म प्रधानमन्त्री थिइनँ, खानेपानी मन्त्रालय माओवादी पार्टीकै भागमा थियो,” उनले भने, “आयोजनालाई व्यवस्थित बनाउन पहल गर्छु।”
प्रधानमन्त्री दाहालले मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित गर्न सरकारले आवश्यक बजेट व्यवस्था गर्ने बताए। “यसबारे आवश्यक निर्णय सरकारका तर्फबाट लिइन्छ,” उनले भने, “थप बजेटको प्रबन्ध गर्छौं, बजेटको व्यवस्था भयो भने भैपरी आउने काम गर्न सहज हुन्छ।”
प्रधानमन्त्री दाहालसँगै खानेपानी मन्त्री महिन्द्र राय यादव पनि मेलम्ची पुगेका हुन्। २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो। बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनःसञ्चालन गरिएको थियो।
मेलम्ची खोलाको रिवर्मामा मुहान (हेडवर्क) निर्माण गरी सुन्दरीजलसम्म २६.५ किलोमिटर लामो सुरुङ निर्माण गरेर पानी ल्याइएको छ। सुरुङका माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याइने गरिएको छ।