विश्वकप छनोटमा कस्ता छन् नेपालका प्रतिस्पर्धी?
भारतमा हुने एकदिवसीय आईसीसी विश्वकप खेल्ने लक्ष्य सहित जिम्बावे पुगेको नेपाली टोली आइतबारबाट छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छ।
विश्वकप छनोट प्रतियोगितामा १० टोली प्रतिस्पर्धी छन्। जसमध्ये फाइनलमा पुग्ने दुई टोली विश्वकपका लागि छनोट हुनेछन्।
१३औं संस्करणको आईसीसी विश्वकप आउँदो अक्टोबर-नोभेम्बरमा भारतमा हुनेछ। विश्वकपमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमध्ये आठ टोली छनोट भइसकेका छन्।
छनोट भएका आठ टोलीमा आयोजक भारतसँगै अफगानिस्तान, अस्ट्रेलिया, बाङ्लादेश, इङ्ल्यान्ड, न्यूजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिका छन्। अब बाँकी दुई टोलीले जिम्बावेमा हुने छनोट प्रतियोगिताबाट आउनेछन्।
छनोट प्रतियोगितामा प्रतिस्पर्धी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ‘ए’ मा नेदरल्यान्ड्स, अमेरिका, वेस्ट इन्डिज र जिम्बावे छन्। त्यस्तै, समूह ‘बी’ मा आयरल्यान्ड, ओमन, स्कटल्यान्ड, श्रीलंका र यूएई छन्।
प्रतियोगिताको पहिलो खेल नेपाल र जिम्बावेबीच असार ३ गते मध्याह्न १२ः४५ बजे हुनेछ। त्यस्तै, दोस्रो खेलमा नेपालले असार ५ मा अमेरिका, असार ७ मा वेस्ट इन्डिज र असार ९ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
घरेलु टोली जिम्बावेसँग यसअघि नेपालले ५० ओभरको एक खेल खेलेको थियो।* सन् २०१८ मा भएको एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको उक्त खेलमा नेपाल जिम्बावेसँग ११६ रनले पराजित भएको थियो। उक्त खेलले लिस्ट ‘ए’ मान्यता पाएको थियो। ललित राजवंशीले सोही खेल मार्फत लिस्ट ‘ए’ डेब्यू गरेका थिए।
एकदिवसीय वरीयतामा पनि जिम्बावे नेपालभन्दा माथि छ। जिम्बावे ११औं नम्बरमा छ भने नेपाल १४औं नम्बरमा छ।
पछिल्ला पाँच खेलको प्रदर्शन हेर्दा भने नेपाल बलियो देखिन्छ। नेपालले पाँचै खेल जितेको छ। जिम्बावेले भने पछिल्ला पाँच खेलमा दुई जित, दुई हार र एक खेल बराबरी खेलेको थियो।
त्यस्तै, दोस्रो खेलमा नेपालले प्रतिस्पर्धा गर्ने टोली हो, अमेरिका। अमेरिकाले भने एकदिवसीय वरीयता प्राप्त गरेको छैन।
नेपाल र अमेरिकाबीच भएका पछिल्ला पाँच प्रतियोगितामा दुवै टोलीले दुई-दुई जित हासिल गरेका छन् भने एक खेल बराबरीमा टुङ्गिएको थियो।
लिग चरणको तेस्रो खेलमा नेपालले बलियो टोली वेस्ट इन्डिजको सामना गर्नेछ। नेपालले पहिलो पटक वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्न लागेको हो।
एकदिवसीय वरीयतामा पनि वेस्ट इन्डिज नेपालभन्दा चार स्थानमाथि १०औं नम्बरमा छन्। वेस्ट इन्डिजले दुई पटक विश्वकप जितिसकेको छ। त्यस्तै, यो आईसीसी टी-२० विश्वकप दुई पटक जितेको टोली हो। सन् २००४ को आईसीसी च्याम्पियन ट्रफी समेत वेस्ट इन्डिजको नाममा छ।
पछिल्ला पाँच खेलमा भने वेस्ट इन्डिजको प्रदर्शन सुधारिंदै आएको छ। पाँच खेलमा चार खेल जितेको छ भने एक खेलमा दक्षिण अफ्रिकासँग नराम्रो हार बेहोरेको थियो।
नेपालले प्रतिस्पर्धा गर्ने चौथो टोली हो, नेदरल्यान्ड्स। नेपालको दाँजोमा नेदरल्यान्ड्स भने कमजोर देखिन्छ। एकदिवसीय वरीयतामा नेदरल्यान्ड्स १७औं स्थानमा छ, जबकि नेपाल १४औं स्थानमा छ।
त्यस्तै, नेपाल र नेदरल्यान्डस् दुई पटक भिडेका छन्। जसमा दुवै टोलीले एक-एक खेल जितेका छन्।
पछिल्ला पाँच खेलमा भने नेदरल्यान्ड्सको प्रदर्शन राम्रो देखिएको छैन। नेदरल्यान्ड्सले चार खेल हारेको छ भने जिम्बावेसँगको एक खेल मात्रै जितेको छ।
लिग चरणका चार-चार खेलपछि दुवै समूहका शीर्ष तीन टोली ‘सुपर-६’ पुग्नेछन्। सुपर-६ मा भने समूह ‘ए’ का उत्कृष्ट तीन टोलीले समूह ‘बी’ का उत्कृष्ट तीन टोलीसँग तीन-तीन खेलमा प्रतिस्पर्धा गर्नेछन्।
यसबाट उत्कृष्ट दुई टोलीबीच फाइनलमा प्रतिस्पर्धा हुनेछ। फाइनलमा पुगेकै दुई टोलीले विश्वकप खेल्न पाउनेछन्।
* यसअघि नेपाल र जिम्बावेबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको उल्लेख भएकामा सखेद सच्याइएको छ। - सम्पादक