अब ६६ पृष्ठको राहदानी पाँच हजारमा पाइने
राहदानी विभागले अब सेवाग्राहीलाई पाँच हजार रुपैयाँमै राहदानी उपलब्ध गराउने भएको छ।
यसअघि जिल्ला प्रशासन कार्यालयले १० हजार रुपैयाँमा राहदानी उपलब्ध गराउँदै आएको थियो। यही असार ३ गतेदेखि ६६ पृष्ठको राहदानी सम्बन्धित जिल्लाबाट पाँच हजार रुपैयाँमा उपलब्ध गराउने भएको विभागका प्रवक्ता दुरपदा सापकोटाले बताए।
जिल्ला प्रशासन कार्यालयबाट राहदानी लिनेका लागि मात्रै शुल्क घटाइएको हो। प्रवक्ता दुरपदाले भने, “सम्बन्धित जिल्लाबाट राहदानी लिएको खण्डमा पाँच हजार लाग्ने र राहदानी विभागबाट लिन चाहेमा १२ हजार लाग्नेछ।”
यसैगरी हराएको र बिग्रिएको राहदानीको हकमा विभागबाट लिन चाहेमा १७ हजार तथा जिल्लाबाट लिन चाहेमा १० हजार लाग्ने समेत प्रवक्ता सापकोटाले जानकारी दिइन्।
गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानी बराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरेको थियो। यसअघि राहदानी विभागले जिल्ला प्रशासन कार्यालयबाट ‘फ्रिक्वेन्ट फ्लायर’ (समय-समयमा विदेश गइरहने) सेवाग्राहीलाई ६६ पृष्ठको राहदानी १० हजारमा उपलब्ध गराउँदै आएको थियो।
राहदानी विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालय र विदेशस्थित सबै नेपाली नियोगलाई परिपत्र गरेर राहदानी दस्तुरबारे जानकारी गराइएको विभागले जनाएको छ।
परिपत्रमा मन्त्रिपरिषद्को निर्णय अनुसार ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर सरह कायम गर्ने गरी संशोधन गरिएको र यही असार ३ गतेदेखि संशोधित दस्तुर लागू गर्न निर्देशन दिइएको विभागले जनाएको छ।