बालकृष्ण खाणले भने- म निर्दोष छु
पूर्व गृहमन्त्री बालकृष्ण खाणले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफू निर्दोष रहेको बताएका छन्।
काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री खाण सहित १६ जनालाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको छ। अदालतको आदेश सुनेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खाणले आफू निर्दोष रहेको जिकिर गरेका हुन्।
“म निर्दोष छु,” जिल्ला अदालत परिसरमा पूर्व गृहमन्त्री खाणले भने, “अझै पनि अदालतबाट न्याय पाउनेमा आशावादी छु।”
उनले अदालतको आदेशलाई स्वीकार गर्ने बताए। अहिले पुर्पक्षका लागि जेल पठाउने आदेश भए पनि आफू निर्दोष भएकाले न्याय पाउने उनको भनाइ थियो।
जिल्ला अदालतले नक्कली भूटानी शरणार्थी मुद्दामा पक्राउ परेका १८ जनामध्ये १६ जनालाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो। अदालतको आदेशसँगै सबैलाई जगन्नाथदेवलस्थित कारागार पठाइएको छ।