पुष्पकमलको धार्मिक अवतारले छोडेका वाण
धर्मलाई अफिम मान्ने कम्युनिस्ट सिद्धान्त अँगालेका पुष्पकमल दाहालको गेरुवस्त्रधारी अवतारबाट के सन्देश लिने र मुक्तिको सपना कसरी देख्ने, दलित मुक्ति मोर्चाले प्रस्ट पार्नुपर्छ।
माओवादीको सशस्त्र विद्रोह उत्कर्षमा भएको वेला राजधानी दैनिकमा एउटा समाचार पढेको थिएँ। समाचारमा एक किशोरीले भनेकी थिइन्, ‘म रजस्वला भएकी, कामीकी १६ वर्षीया छोरी हुँ। शिवलिङ्गमा खुट्टा राखेर उभिएकी छु, यसमा कुनै शक्ति छ भने मलाई भस्म गरोस्।’
धार्मिक परम्परा र संस्कारले थिचेको समाजमा सामान्यतया कुनै ढुङ्गामा रातो अबीर लागेको छ भने पनि मान्छेहरूले त्यसमा खुट्टा पार्ने आँट गर्दैनन्, यहाँ त रजस्वला भएकी जुनसुकै जातकी महिलालाई ‘अछूत’ मानिने र त्यसमा पनि समाजले कथित ‘तल्लो जात’ को मान्ने कामीकी छोरीले शिवलिङ्गमा टेक्नु चानचुने कुरा होइन।
यस्तो विद्रोही चेत ती युवतीमा यत्तिकै आएको थिएन। तत्कालीन माओवादी विद्रोहले जगाएको चेतना थियो त्यो। उनी माओवादीकी छापामार थिइन्। कम्युनिस्ट सिद्धान्तका प्रवर्तक कार्ल मार्क्सले ‘धर्म धनी तथा सामन्तहरूले प्रयोग गर्ने वर्गीय हतियार हो र यो अफिम जस्तै नशालु हुन्छ, अतः कुनै पनि सच्चा कम्युनिस्ट यसबाट टाढा रहनुपर्छ र विरोध गर्नुपर्छ’ भन्थे। यसलाई कम्युनिस्ट सिद्धान्तका संसारभरका अनुयायीले अक्षरशः पालना गर्थे। माओवादी पनि त्यसमा अपवाद हुने कुरा भएन।
शान्ति प्रक्रियामा आएको लामो समयसम्म पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालको धार्मिक अवतार देखिएको थिएन। शान्तिपूर्ण राजनीतिमा आएपछि उनले बुबा, छोरी र छोराको मृत्यु बेहोरे। समाचारमा आए अनुसार यी तीनवटै मृत्युमा उनले हिन्दू कर्मकाण्ड बमोजिम किरिया बसेनन्, जुठो बारेनन्। यसले उनी केही हदसम्म कम्युनिस्ट सिद्धान्तमा अडिग छन् भन्ने देखाएको थियो। बरु त्यसबीचमा बाबुराम भट्टराईले आफ्नी आमालाई मनकामना दर्शन गर्न लगेको तथा दशैं र तिहार परिवारजनसँग मनाएको तस्वीर सार्वजनिक भएका थिए।
दशक लामो हिंसात्मक विद्रोहमा ठूलो संख्यामा दलित युवा युद्धमा समाहित थिए। माओवादी युद्धमा लाग्दा वा सुराकीका नाममा दलित समुदायका एक हजार १९७ जना मारिएका थिए। उनको तथ्यका आधारमा सशस्त्र युद्धमा १४ प्रतिशत दलितको मृत्यु भएको देखिन्छ। मुलुकको अन्य राजनीतिक वा सामाजिक आन्दोलनमा दलितले ज्यान फालेको खासै नदेखिएको इतिहास हेर्दा यो संख्या उल्लेखनीय छ।
दलित समुदायका यति धेरै मानिस सशस्त्र युद्धमा बलिदान दिन किन तत्पर भए त? मुख्य कुरा, माओवादीको शासन व्यवस्था आए वर्गीय मुक्तिसँगै जातीय मुक्ति पनि हुन्छ भन्ने ठूलो सपना देखाइएको थियो। परिणामस्वरूप दलित र गैरदलितबीच विवाह गर्ने लडाकू जोडी प्रशस्तै थिए। त्यसले माओवादीले सिद्धान्तमा मात्रै होइन, व्यवहारमा पनि लागू गर्न सक्छ भन्ने प्रमाणित गरेको थियो।
युद्धकालमा विभिन्न जातीय मुक्ति मोर्चा बनाएको नेकपा (माओवादी केन्द्र)को जनवर्गीय संगठन हो, दलित मुक्ति मोर्चा। प्रायः सबैजसो दलितको पार्टी प्रवेशको पहिलो खुड्किलो यही संगठन हो। यो संगठनका मूल वैचारिकी माउ पार्टी माओवादीले जे अपनाउँछ त्यही भए पनि यसले देशका लाखौं दलितलाई गोलबद्ध गर्ने भएकाले यसको आफ्नै वैचारिकी पनि हुन्छ। हिजो युद्धकालमा रजस्वला भएकी एक दलित किशोरीलाई शिवलिङ्गमा टेक्न विद्रोही चेत जगाउन सकेको पार्टीले अहिले यसका सुप्रिमो दाहालको धर्मभीरु अवतार देखाएर आफ्नो संगठन विस्तार गर्न त परको कुरा भएका चेतनशील कार्यकर्तालाई बचाउन समेत धौधौ पर्ने देखिन्छ। अहिले पनि माओवादीको एउटा ठूलो आधार दलित तथा अन्य सीमान्तीकृत समुदाय नै हुन्।
माओवादी अध्यक्षमा यस्तो धर्मभीरु धारणा किन आयो भन्ने प्रश्न गर्दा दाहालकै सदाशयतामा दलित समुदायबाट समानुपातिकतर्फ निर्वाचित सांसदले पनि प्रधानमन्त्री दाहालले भारत भ्रमणको क्रममा उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर पूजा गरेको, हालै पशुपतिनाथ मन्दिरमा मन्त्रीहरूको दलबल सहित गएको विषयमा असन्तोष व्यक्त गरे।
उनले भने, “माओवादी सम्झौता मार्फत शान्ति प्रक्रियामा आएको हो, आफैंले युद्ध जितेर आएको भए शायद यस्तो गर्दैनथ्यो। अहिले पार्टी र अध्यक्षका लागि राज्यसत्ता सबैभन्दा ठूलो कुरा भएको छ, त्यो प्राप्ति टिकाउन एउटा कुशल कलाकारको भूमिका निर्वाह गर्नुपर्ने रहेछ। एउटा कुशल कलाकारले आफूलाई जुनसुकै भूमिकामा खरो उतार्दै दर्शकको मन जित्छ, अध्यक्ष कमरेडले पनि सत्ताधारी वा त्यसका निकट समुदायको मन जित्दै सत्तामा टिकिरहन त्यस्तै प्रयास गरेका होलान्।’
मैले छिमेकी देश भारतका कम्युनिस्ट नेताहरू सुरजित सिंह, सीताराम यचुरी, पश्चिम बंगालका मुख्यमन्त्री ज्योति वसु लगायतका व्यवहार बुझ्ने प्रयास गरेको छु। उनीहरूमध्ये कसैले पनि पुष्पकमल दाहाल जस्तो मन्दिरमा गेरुवस्त्र लगाएर ढोंग या धर्मको राजनीति गरेको थाहा पाएको छैन। कसैलाई प्रभावमा पार्न वा कसैको दबाबमा उनीहरू आफ्नो सिद्धान्तबाट हलचल भएको पाइँदैन। सिद्धान्तलाई उनीहरूले व्यवहारमै पालना गरिरहेको देखिन्छ। तर, यहाँ माओवादीको लवेदा–सुरुवाल अवतारपछि गेरुवस्त्र अवतार देखिनुलाई सिद्धान्तच्युत मान्ने कि सामान्य रूपमा लिने?
शेरबहादुर देउवाले हातभरि औंठी लगाएर पीताम्बर वस्त्रमा तस्वीर सार्वजनिक गर्दा त्यो कुनै आश्चर्यको विषय हुँदैन। किनभने उनी आफू हिन्दू भएकोमा गर्व गर्छु भन्छन्। तर, जसले धर्मलाई अफिम मान्ने सिद्धान्त आफूले मात्र बोकेन, त्यसैको आडमा युद्ध लडेर हजारौंको बलिदान समेत गरायो, त्यस व्यक्तिले धर्म अङ्गीकार गर्नु शहादत पाएकाहरूको अपमान होइन? किनकि हिन्दू वर्णव्यवस्थाले बनाएको जातकै आधारमा सामाजिक व्यवहारमा विभेद झाँगिएको छ। धर्मकै पथमा लाग्नु थियो भने दलितहरूलाई युद्ध मोर्चामा होमेर किन शहीद बनाइयो? प्रखर सैद्धान्तिक स्खलन देखिएका माओवादी केन्द्रका अध्यक्ष दाहाल हिजो विद्रोह चेत जागेका र आज पनि जातीय र वर्गीय मुक्तिको सपना बोकेका लाखौं दलितहरूलाई के जवाफ दिन्छन्?
अहिले एउटा तर्क पनि गरिंदै छ, दाहाल जुन धार्मिक समुदायको कार्यक्रममा जान्छन् उनीहरूकै पहिरन लगाउँछन्, अतः हिन्दू मन्दिरमा गएर गेरुवस्त्र धारण गर्नु के आश्चर्य भयो त? तर, यहाँ के हेक्का राख्नुपर्छ भने, मुस्लिमको कार्यक्रममा मुस्लिम टोपी, तामाङको कार्यक्रममा तामाङ टोपी लगाउनु र मन्दिरभित्र गएर गेरुवस्त्र ओढेर पूजा नै गर्नुमा धेरै फरक छ।
शहरी मध्यमवर्गीय भोट माओवादीको पक्षमा छैन, यो त ऊ आफैंले स्वीकार गरिसकेकै छ। निम्नवर्गीय दलित, जनजाति तथा सीमान्तीकृत समुदायको ग्रामीण भोट नै उसको आधार हो। यो स्थितिमा दाहालको गेरुवस्त्रधारी अवतारबाट के सन्देश लिने र मुक्तिको सपना कसरी देख्ने, यसमा दलित मुक्ति मोर्चाले प्रस्ट पार्न सक्नुपर्छ।